२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

लुम्बिनी प्रदेशसभाबाट दलित अधिकार सम्बन्धी विधेयक पारित

सत्यपाटीसत्यपाटी । लुम्बिनी । २०८३ वैशाख ८ गते मंगलबार

लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १४औँ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफलसहित पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

बैठकमा सभामुख तुलाराम घर्तिमगरले उक्त विधेयक छलफलसहित सर्वसम्मत रूपमा पारित भएको जानकारी गराए । कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिको प्रतिवेदन पेस गरे ।

यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरे । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले विभिन्न समसामयिक विषय उठाएका छन् । प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले जनताको संरक्षण गर्ने राज्यले जनतालाई दुःख दिन नहुने बताउँदै योजना कार्यान्वयन र फरफारक प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राखे ।

उनले विकासका लागि बजेट भए पनि त्यसको प्रभावकारी सदुपयोग हुन नसकेको उल्लेख गरे । प्रदेशसभा सदस्य शान्ति लोदले रुपन्देहीको मायाँदेवी क्षेत्रमा नागरिकताको समस्या रहेको विषय उठाइन् । प्रदेशसभा सदस्य निलम पासवानले लुम्बिनी प्रदेशमा पूर्व परासीदेखि तौलिहवा हुँदै बर्दियासम्म यातायात सेवा सञ्चालन गर्न माग गरिन् ।

प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार