२०८३ वैशाख ७ , सोमबार 20, April 2026, Monday

बजारमा बेत बाँसको माग उच्च, तर कामदार पाउनै मुस्किल

सत्यपाटीसत्यपाटी । कैलाली । २०८३ वैशाख ७ गते सोमबार

कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बाँसका लागि प्रख्यात छ । सामुदायिक वनले बर्सेनि लाखौँ रुपैयाँको बेत बाँस सङ्कलन गर्दै आएको छ । वनको प्रमुख आम्दानीको स्रोत नै बेत बाँस हो । आर्थिक हिसाबले सम्पन्न यस सामुदायिक वनले बेत बाँस सङ्कलनबाट दर्जनौँ स्थानीयवासीलाई रोजगारी सिर्जना गर्दै आएको छ ।

अहिले वनबाट काँचो बेत सङ्कलन भइरहेको छ । दर्जनौँ स्थानीयवासी बेत सङ्कलनमा जुटेका छन् । उनीहरूले सङ्कलन गरेको बेत वनले प्रतिकिलो रु. ११ मा खरिद गर्दै आएको छ । तीन हजार क्विन्टल बेत बाँस सङ्कलन गर्ने लक्ष्य लिएको सामुदायिक वनले आवश्यकता अनुसार कामदार नपाउँदा लक्ष्य भेटाउन मुस्किल भएको वन कार्यालयका प्रमुख मीनबहादुर ठकुल्ला बताउँछन् ।

‘अहिलेसम्म लगभग ९०० क्विन्टल सङ्कलन भएको छ । लक्ष्यअनुसार यस वर्ष पनि बेत सङ्कलन हुँदैन,’ उनी भन्छन्, ‘कामदार पाउन निकै गाह्रो हुँदा गत वर्ष पनि लक्ष्यअनुसार बेत सङ्कलन गर्न सकिएको थिएन । वनले गत वर्ष एक हजार ४०० क्विन्टल बेत बाँस सङ्कलन गरेको थियो ।’ वनको १४६ हेक्टर क्षेत्रफलमा बेत बाँस छ ।

त्यसमध्ये १० हेक्टरभन्दा बढी क्षेत्र कर्णाली नदीको कटानमा परिसकेको छ । बेत बाँस भएको क्षेत्रलाई चार भागमा विभाजन गरेर वनले पाँच वर्षमा एक पटक एउटा भागको बेत बाँस सङ्कलन गर्दै आएको छ । ‘हामीले वर्षमा ७० देखि ८० लाख रुपैयाँसम्मको बेत बाँस बिक्री गरेको रेकर्ड छ,’ सामुदायिक वनका अध्यक्ष जितराम चौधरी भन्छन्, ‘यसरी आम्दानी भएको रकम उपभोक्ताहरूलाई प्रदान गरिने सेवामा खर्च गर्ने गरेका छौँ ।’

उनका अनुसार वनले बर्सेनि जाडोको समयमा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्दै आएको छ । साथै, उपभोक्ताका बालबालिकालाई छात्रवृत्ति र उपभोक्ताको परिवारमा कसैको निधन हुँदा किरिया खर्चबापत वनले नगद सहयोगसमेत गर्दै आएको छ । काँचो बेत प्रतिकिलो रु.११ मा खरिद गरेर सामुदायिक वनले त्यसलाई सुकाई उपभोक्ताका लागि प्रतिकिलो रु.५० मा उपलब्ध गराउँदै आएको छ ।

बाहिर बिक्री गर्नुपर्दा प्रतिकिलो रु.९० मा बिक्री गरे पनि ‘टेन्डर’ मार्फत प्रतिकिलो रु.१०५ सम्ममा बिक्री हुने गरेको अध्यक्ष चौधरीको भनाइ छ । उनका अनुसार बजारमा बेतको माग उच्च रहे पनि त्यसलाई पूरा गर्न सकिएको छैन । टीकापुरमा मात्रै बेत बाँसका फर्निचर उत्पादन गर्ने दर्जनौँ उद्योग सञ्चालनमा छन् । ती सबै उद्योगको कच्चा पदार्थको स्रोत यही सामुदायिक वन हो । बर्सेनि कर्णाली नदीको कटानका कारण सामुदायिक वनको क्षेत्रफल खुम्चिँदै गएको छ, जसले गर्दा टीकापुर नगरपालिकाको दक्षिण–पूर्वी क्षेत्र थप जोखिममा पर्दै गएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार