२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

सिमकोट-नेपालगन्जको हवाई भाडा २३ प्रतिशतले वृद्धि

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख ६ गते आइतबार

सिमकोट-नेपालगन्जको हवाई भाडा यसपटक २३ प्रतिशतसम्म वृद्धि भएको छ । हवाई इन्धनको मुल्य वृद्धि भएसँगै सिमकोट नेपालगन्जको हवाई भाडा वृद्धि भएको हो । सिमकोटबाट नेपालगन्जको हवाई भाडा वृद्धि भएर ११ हजार ८१४ रुपैयाँ पुगेको नेपाल एइरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले बताए ।

यसअघि सो एयरलाइन्सले सिमकोटबाट नेपालगन्जको हवाई भाडा नौ हजार रुपैयाँ प्रतियात्रु लिने गथ्र्यो । यसबाट हाल भाडा २३ दशमलव बयासी प्रतिशत वृद्धि भएको छ । त्यस्तै तारा एयरले पनि ११ हजार ५०० रुपैयाँ भाडा लिने गर्छ । यता सीता एयरले हजार ४०० रुपैयाँ प्रतियात्रु भाडा लिने गरेको सो एयरका सिमकोट स्टेशनका सहायक प्रमुख सुर्य लामाले बताए ।

यता नेपाल समिट एयरले प्रतियात्रु एघार हजार ५०० रुपैयाँ लिदै आएको छ । नीजि एयरलाइन्सहरुले नेपालगन्ज सिमकोटको उडान भर्दा चार्टर उडान भर्ने गरेको भए पनि सिमकोट नेपालगन्जको सेडुअल उडान नै भर्ने गथ्र्ये । यता हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अबरुद्ध भएको छ ।

सेडुअल उडान गर्ने जहाजहरु नेपालगन्ज नभएको कारण उडान हुन नसकेको हो । उडान भएपछि दुवैतर्फका यात्रुहरु मर्कामा परेका छन् । त्यस्तै हुम्लामा पेट्रोल र डिजेलको अभाव देखिन थालेको निर्माण ब्यवसायी सरोज रावतले बताए । उनका अनुसार पाउनै कठिन र फाट्टफुट्ट पाए पनि डिजेल प्रतिलिटर २३६ रुपैयाँ र पेट्रोल प्रतिलिटर २८० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार