२०८३ वैशाख २ मा नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले उपसभापति पदमा नरहेको दाबी गर्दै पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोधेपछि पार्टीभित्रको विवाद सतहमा आएको छ । खड्काले भने आफू अझै आधिकारिक उपसभापति रहेको दाबी गर्दै निर्णयलाई अस्वीकार गरेका छन् ।
जेनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति चुनिए पनि शेरबहादुर देउवा र शेखर कोइराला समूहले अस्वीकार गरेपछि कांग्रेस तीन धारमा विभाजित भएको छ । आधिकारिकताको विवाद निर्वाचन आयोग र अदालतमा विचाराधीन छ ।
इतिहासमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको कांग्रेस अहिले आन्तरिक कलह, कमजोर प्रतिपक्ष भूमिका र निर्वाचनमा पराजयका कारण संकटमा छ । पछिल्लो चुनावमा कमजोर प्रदर्शन र नेताबीचको असहमतिले पार्टी फुटको संघारमा पुगेको नेताहरूको भनाइ छ ।
विश्लेषकहरूका अनुसार कांग्रेसको कमजोर अवस्थाले समग्र लोकतान्त्रिक प्रणालीमै असर पार्न सक्छ, तर नेताहरूबीचको अविश्वास र गुटबन्दी अन्त्य नभएसम्म एकता सम्भव देखिँदैन । यद्यपि पूर्वसभापति शेरबहादुर देउवा, वर्तमान सभापति थापा र नेता शेखर कोइरालाले नयाँ पार्टी गठनका लागि आन्तरिक गृहकार्य थालेको स्रोतले बतायो ।
सत्यपाटी