नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गए मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ ।
परिवर्तित मूल्य अनुसार, डिजेल र मट्टितेलको प्रतिलिटर रु २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर रु २५६ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।
लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टितेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ । पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
Skip to PDF content
सत्यपाटी