२०८२ चैत ३० , सोमबार 13, April 2026, Monday

बरामद गरिएका साइकल र काठबाट ४३ लाख राजश्व

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत २८ गते शनिबार

डिभिजन वन कार्यालय बाँकेले वर्षौँदेखि कार्यालय परिसरमा थन्किएका साइकल र काठका गोलिया लिलाम बिक्री गरेर करिब ४३ लाख राजश्व संकलन गरेको छ ।

डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार विभिन्न समयमा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा बरामद गरिएका साइकल र काठको गोलिया लिलाम प्रक्रियाबाट बिक्री गरिएको हो ।

उनका अनुसार कार्यालय परिसरमा वर्षौँदेखि थन्किएका ११९ थान साइकल र २५०१.९३ क्यूफिट खयर, साल, सगुनलगायतको काठका गोलिया बिक्रीबाट भ्याटबाहेक ४२ लाख ८६ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको हो ।

जसमध्ये साइकल बिक्रीबाट ७९ हजार र काठबाट ४२ लाख ७ हजार ४ रुपैयाँ प्राप्त भएको उनले बताए । उनले कार्यालय परिसरमा थन्किएका पुराना सामग्रीको व्यवस्थापन क्रमशः अन्य सवडिभिजन वन कार्यालयसम्म विस्तार गरिने जानकारी दिए ।

कार्यालयका सूचना अधिकारी वरिष्ठ वन अधिकृत टंक गुरुङका अनुसार लिलाम बिक्रीबाट प्राप्त रकम प्रदेश सरकारको सञ्चित कोषमा जम्मा भइसकेको छ । उनले अब विभिन्न जातका ९२२ क्यूफिट चिरान काठ लिलाम प्रक्रियामा रहेको बताए ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार