२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

शेरबहादुर देउवा दम्पतीविरुद्ध इन्टरपोलबाट नोटिस जारी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत २५ गते बुधबार

पाँच पटकका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा र उनकी धर्मपत्नी डा आरजू राणा देउवाविरुद्ध पक्राउ अनुमति मागेको थियो । सोही आधारमा जिल्ला अदालत काठमाडौँले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति दिएको हो । हाल देउवा दम्पती हङकङमा रहेका छन् ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवाविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ पुर्जी लिएर देउवा दम्पती विरुद्ध प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी थालेको हो । प्रहरी प्रधान कार्यालय स्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)को आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)बाट नोटिस जारी हुने प्रावधान छ ।

पूर्व प्रधानमन्त्री देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा.राणाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान गरिरहेको छ । देउवा दम्पतीको इस्यु अनुसन्धानकै क्रममा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताए । उनले भने, ‘त्यो सबै विषय अनुसन्धानकै प्रक्रियामा छ ।’ देउवा दम्पतीविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको विषय महानिर्देशक ठाकुरले अस्वीकार गरेका छन् ।

तर, विभागका एक जना अधिकृतका अनुसार काठमाडौँ जिल्ला अदालतबाट न्यायाधीश महेन्द्रबहादुर कार्कीले पक्राउ अनुमति दिएका हुन् । पुर्जी जारी भएपछि विभागले देउवा दम्पतीको यात्रा विवरण अध्यागमन विभागसँग मागेको छ । अध्यागमन स्रोतका अनुसार आरजु २०८२ फागुन १० मा भारत र शेरबहादुर देउवा २०८२ फागुन १३ मा सिंगापुर गएको देखिन्छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृतहरूले अध्यागमन विभागबाट एक साताअघि नै उनीहरूको यात्रा विवरण ल्याएको बताइएको छ । यात्रा विवरणमा विदेश गएको पुष्टि भएपछि उनीहरूविरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने कानुनी व्यवस्था छ । नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)को आग्रहमा इन्टरपोल महासचिवालयबाट विभिन्न प्रकारका नोटिस जारी गरिन्छ । अदालतमा विचाराधीन मुद्दामा आरोपी लुकेको ठाउँ थाहा पाउन डिफ्युजन जारी गरिन्छ ।

अदालतबाट वारेन्ट जारी नभएको अवस्थामा गरिने ‘सूचनात्मक परिपत्र’नै डिफ्युजन हो । इन्टरपोल महासचिवालयबाट जारी गरिने डिफ्युजनकै आधारमा मात्र आरोपी पक्राउ पर्दैनन् । खोजी सूचीमा रहेका आरोपी डिफ्युजनबाट लोकेट भएपछि पक्राउका लागि रेड नोटिस जारी गर्ने गरिन्छ । अपराध अनुसन्धान गर्न रेड नोटिस र डिफ्युजन जस्तै अन्य आठ प्रकारका नोटिस जारी गरिन्छ ।

इन्टरपोलको सदस्य संगठनहरुको आग्रहमा फ्रान्सको लियोन स्थित इन्टरपोल महासचिवालयबाट त्यस्ता नोटिस जारी गरिन्छ । १९६ देशका प्रहरी संगठन इन्टरपोलका सदस्य छन् । इन्टरपोलबाट रेड, ब्लू, ग्रिन, ओरेन्ज, ब्ल्याक, यल्लो र पर्पल नोटिस जारी गरिन्छ । रेड नोटिस दुई वर्षभन्दा धेरै कैद सजाय हुने अपराधमा संलग्न आरोपीका डिफ्युजन मात्रै जारी गरिन्छ । देउवा दम्पतीको हकमा कुन नोटिस जारी गर्ने भन्नेबारे यकिन भैसकेको छैन ।

यसअघि गत फागुन १३ गते देउवा सिंगापुर गएका थिए भने आरजू भारत गएकी थिइन् । त्यसयता दुवै नेपाल फर्केका छैनन् । प्रतिनिधिसभाको निर्वाचनमा समेत उनीहरू विदेशमै थिए । गत चैत १३ मा गठित वालेन्द्र साह बालेनको नेतृत्वको नयाँ सरकारले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पहिलो चरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री दीपक खड्का, व्यवसायी दीपक भट्ट, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र उनका छोरा शुलभ अग्रवालमाथि अनुसन्धान गरिरहेको छ । देउवा दम्पती गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा पिटिएको थियो । सो क्रममा उनको निवास बूढानीलकण्ठबाट थुप्रै रुपैयाँ जलेको भिडियो सार्वजनिक भएको थियो । साथै जल्दै गरेका रुपैयाँ सर्वसाधारणले लगेका भिडियोसमेत सार्वजनिक भएका थिए ।

प्रकाशित मिति : २०८२ चैत २५ गते बुधबार