प्रतिनिधिसभाको सभामुख चयनका लागि प्रक्रिया अगाडि बढेको छ । प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई आजै सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।
बुधबार बसको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति गरेको थियो । सभामुखका लागि मनोनयन दर्ता शुक्रबार गर्ने सहमति पनि दलहरूबीच भएको छ । यही सहमति अनुरुप महासचिव पाण्डेले सूचना प्रकाशित गर्नेछन् ।
यस्तै राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन यही चैत २३ गते हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबार (चैत १९) बसेको बैठकमा उक्त निर्वाचनको मिति तोकेका हुन् । अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचनका निम्ति चैत २३ गतेको दिन तय गरिएको जानकारी दिए ।
उनले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन समेत दिए । यस्तै, राष्ट्रियसभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचन चैत २४ गते गर्ने गरी मिति तोकिएको छ ।
अध्यक्ष दाहालले राष्ट्रियसभाका सचिव तुलबहादुर पाण्डेलाई रिक्त सभापतिहरूको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन दिए । राष्ट्रियसभाको अर्को बैठक चैत २२ गते दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगन गरिएको छ ।
सत्यपाटी