वालेन्द्र साह बालेन नेपालको ४३ औँ प्रधानमन्त्री भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता साहलाई बहुमतप्राप्त दलको नेताका रूपमा संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराएका छन् ।
उनी गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका थिए ।
व्यक्तिगत जीवन र शिक्षा
बालेन आयुर्वेदिक चिकित्सक डा.रामनारायण साह र ध्रुवादेवी साहका सुपुत्र हुन् । उनको जन्म २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । पुर्ख्यौली घर महोत्तरीको एकडारा हो । सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतबाट एमटेक (संरचनागत इन्जिनियरिङ) गरेका साहले व्यावसायिक र सामाजिक क्षेत्रमा नेतृत्वको अनुभव आर्जन गरेका छन् ।
राजनीतिक यात्रा र उपलब्धि
साहले विसं २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखको रूपमा निर्वाचित भई सेवा गरेका थिए । प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिनुअघि उनले गत माघ ४ गते महानगर प्रमुख पदबाट राजीनामा दिएका थिए । उनले काठमाडौँको प्रमुख रहँदा पर्यटन प्रवद्र्धन, आर्थिक विकास, नेवा संरचनाको संरक्षण, सहरी व्यवस्थापन र अवैध संरचना हटाउने कार्यमा उल्लेखनीय योगदान दिएका थिए ।
साथै भूकम्पपछिको पुनःनिर्माण, पुल, सडक तथा भवन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका छन् । विशेषगरी, उनले नेवा वास्तुकला र सांस्कृतिक सम्पदाको संरक्षणसँगै सहरी सेवा सुधारमा ध्यान दिएका थिए । यसले काठमाडौँमा पर्यटन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको विश्लेषकहरू बताउँछन् ।
सांगीतिक र सामाजिक योगदान
‘र्याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका साहले दुई दर्जनभन्दा बढी र्याप कम्पोज गरेका छन् । उनका गीतमा बेरोजगारी, असमानता, भ्रष्टाचार विरोध, सुशासन र सामाजिक न्यायका विषय प्रधान छन् । संविधानसभाको दोस्रो निर्वाचनपछि सार्वजनिक गीत ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ मार्फत उनले देशप्रतिको चिन्ता र नयाँ पुस्ताको अपेक्षालाई प्रस्तुत गरेका थिए ।
हालैको भदौ २३–२४ गतेको जेन–जी आन्दोलनमा समर्थन जनाएका साहमाथि युवा आन्दोलन र सामाजिक परिवर्तनका अपेक्षा कार्यान्वयन गर्ने चुनौती आएको छ । विश्लेषकहरूले यो अवस्था उनलाई नयाँ पुस्ताको विश्वास जित्न र प्रणालीगत सुधारमा सक्रिय भूमिका निभाउन दबाब दिने बताए ।
प्रधानमन्त्रीको चुनौती र भविष्य
विश्लेषकहरूको भनाइ अनुसार साहको नयाँ सरकार युवा नेतृत्व, नवप्रवर्तन र सुशासनको प्रतीक बन्न सक्ने अवसर पाएको छ । तर अनुभवको अभाव, राजनीतिक समीकरण र बहुपक्षीय अपेक्षाले प्रारम्भिक निर्णय र कार्यान्वयनमा चुनौती ल्याउन सक्छ ।
उनले अबको कार्यकालमा काठमाडौँ र देशभरको भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धन, युवा रोजगारी, सामाजिक समानता र भ्रष्टाचार निवारणमा रणनीतिक पहल गर्नुपर्ने देखिन्छ । प्रधानमन्त्री साहको नेतृत्वमा रास्वपाको सरकार परिवर्तनमुखी, युवा र विकासप्रधान संकेत प्रस्तुत गर्दै अघि बढ्ने अपेक्षा गरिएको छ ।
सत्यपाटी