प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित संसद् भवनको बहुउद्देश्यीय हलमा सांसदहरुको शपथ भएको हो । २०६५ सालमा बसेको संविधानसभाको पहिलो बैठक भने बानेश्वरमा बसेको थियो । त्यसबेला सांसदको संख्या ६०१ थिए ।
सिंहदरबारमा रहेको हल सानो हुने भएपछि संसद् बैठक बानेश्वरमा सारिएको थियो । तर भदौ २४ मा उक्त भवनमा आगजनी भएको थियो । आगजनीले ध्वस्त भवन सञ्चालनमा आउन सक्ने अवस्थामा छैन । त्यसैले नवनिर्मित भवनको एउटा हलमा सांसदहरुको शपथ भएको हो । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई शपथ खुवाएका हुन् ।
जेष्ठ सदस्यले सांसदलाई शपथ खुवाउने व्यवस्था छ । सोही अनुसार ७८ वर्षीय केसीले शपथ गराए । उनले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका थिए । विगतका संसद्मा कसले शपथ खुवाएका थिए ? बहुदलीय व्यवस्था पुनःस्थापनापछिको पहिलो निर्वाचित प्रतिनिधिसभाका सदस्यलाई ०४८ आसार ६ गते शपथ गराइएको थियो ।
संसद् सचिवालय (सम्मेलन कक्ष)मा ज्येष्ठ सदस्य खलील मियाँले शपथ गराएका थिए । पहिले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई शपथ खुवाए । त्यसपछि मन्त्रीहरु र विपक्षी दलका नेता मनमोहन अधिकारीले सदस्य पदको शपथ लिएका थिए । प्रतिनिधिसभाका सदस्यहरुलाई १२ समूहमा समूहीकृत गरी सदस्य पदको शपथ ग्रहण गराइएको थियो ।
शपथ खुवाएपछिको पहिलो बैठकमा मियाले हिन्दीमा ‘ठहरो’ शब्द प्रयोग गरे । त्यसले सदनमा आपत्ति–नियमापत्ति चलेको थियो । ०५१ मंसिर २८ गते दोस्रो प्रतिनिधिसभाको पहिलो बैठकमा ज्येष्ठ सदस्य बलबहादुर राइले शपथ खुवाए । उनी ७२ वर्षका थिए । ०५६ असार ६ गते तेस्रो प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद गिरिजाप्रसाद कोइारालाले समूहगत रुपमा संसद् भवन, सिंहदरबारमा शपथ गराए ।
त्यतिबेला उनी ७५ वर्षका थिए । दोस्रो जनआन्दोलन २०६२–०६३ पछि शपथको परिदृश्य फेरियो । ०६३ साल वैशाख १५ गते ५ः०० बजे पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्यो । प्रतिनिधिसभाको सभामुख पदमा सुवासचन्द्र नेम्वाङ्ग निर्वाचित भए । सोही दिन प्रतिनिधिसभासमक्ष सभामुख पदको शपथ ग्रहण गरेका थिए । त्यही प्रतिनिधिसभाले ०६३ जेठ ४ मा ऐतिहासिक घोषणा ग¥यो ।
र, प्रतिनिधि सभाको घोषणा ०६३ को दफा ९ (ख) बमोजिम सार्वजनिक पद धारण गर्ने पदाधिकारीहरुले प्रतिनिधिसभाबाट तोकिएको ढाँचामा तोकिएको शपथ लिनुपर्ने प्रावधान राखियो । त्यही प्रावधान अनुरुप प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरु ०६३ असार १४ र प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु र मन्त्रीहरुले असार २० गते शपथ प्रतिनिधिसभा सामु शपथ लिएका थिए ।
लोकतन्त्र बहालीपछि व्यक्तिसँग भन्दा प्रतिनिधिसभासामु शपथ खाने चलन भित्रिएको थियो । ०६३ माघ १ गते नेपालको अन्तरिम संविधान जारी भयो । ०६३ माघ १ र माघ ३ गतेको दुईवटा बैठक ज्येष्ठ सदस्य बलबहादुर राईको अध्यक्षतामा बसेको थियो । राईको अध्यक्षतामा बसेको दोस्रो बैठकबाट सुवासचन्द्र नेम्वाङ्ग सभामुख पदमा निर्विरोध निर्वाचित भए । त्यही दिन ज्येष्ठ सदस्यले नवनिर्वाचित सभामुखलाई आसन छाडेका थिए ।
०६५ पछि भने सदन अन्तराष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमा बस्न थाल्यो । ०६५ जेठ १४ गते संविधानसभाका ज्येष्ठ सदस्य कुलबहादर गुरुङ्गले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरस्थित संविधानसभाको सभाकक्षमा आयोजना गरेको विशेष कार्यक्रममा उपस्थित सदस्यहरूबीच पहिले आफूले शपथ लिए । त्यसपछि उनले संविधान सभाका उपस्थित सदस्यहरूलाई सामूहिक रूपमा शपथ ग्रहण गराएका थिए ।
संसद् सचिवालयका अनुसार, सदस्यहरूले आफ्नो मातृभाषामा पनि शपथ लिन पाउने व्यवस्था अनुसार सभाका ३१ भाषामा शपथ लिएका थिए । ०७० माघ ७ गते ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले दोस्रो संविधान सभाका सदस्यलाई शपथ गराएका थिए । जुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरस्थित संविधानसभा (व्यवस्थापिका–संसद्)को सभाकक्षमा आयोजित विशेष कार्यक्रममा गराइएको थियो ।
०७४ फागुन २० गते जेष्ठ सदस्य महन्थ ठाकुरले राष्ट्रपतिबाट शपथ लिएपछि प्रतिनिधिसभाका १७० सदस्यहरुलाई अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाकक्षमा सपथ गराएका थिए । ०७९ मा जेष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराएका थिए । भदौमा भएको जेनजी आन्दोलनपछि फागुन २१ मा भएको निर्वाचनबाट निर्वाचित सदस्यले सिंहदरबारमा शपथ लिएका हुन् । संसद् भवन निर्माण ६ वर्षयता चल्दै आए पनि अझै पूर्ण बन्न सकेको छैन । १७ वर्षपछि संसद् फेरि सिंहदरबारमा नै फर्किएको छ तर पूर्ण हल भने निर्माणाधीन छ ।
सत्यपाटी