२०८३ वैशाख १८ , शुक्रबार 2, May 2026, Saturday

स्ट्रबेरी खेतीको आकर्षणले बाँकेका किसान उत्साहित

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत १० गते मंगलबार

करिब तीन महिनामै उत्पादन हुने र बजार मूल्य राम्रो पाउने भएकाले बाँकेका किसानहरू पछिल्लो समय स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिका आसपासका धेरै किसानहरूले स्ट्रबेरी खेती सुरु गरेका छन् ।

बैजनाथ गाउँपालिका–१, च्यामाका सर्पराज बस्नेतले दुई वर्षअघि पाँच कट्ठा जमिनमा करिब नौ हजार स्ट्रबेरी बिरुवा रोपेर खेती सुरु गरे । करिब छ लाख रुपैयाँ लगानीमा उनले २५ क्विन्टल उत्पादन गरी नौ लाख रुपैयाँ आम्दानी गरे । छोटो समयमै फल तयार हुने र बजारमा माग उच्च रहेको कारण यसतर्फ आकर्षित हुने किसानहरू बढ्दै गएको बस्नेतले बताए ।

यस वर्ष उनले आफ्नै घरमा करिब चार हजार बिरुवा उत्पादन गरेका छन् । करिब तीन लाख रुपैयाँ लगानीमा उत्पादन गरिएको सो बिरुवाबाट २० क्वीन्टल स्ट्रबेरी उत्पादन गरी १३ लाख रुपैयाँसम्म आम्दानी हुने बस्नेतको अनुमान छ । उनकी श्रीमती शारदा बस्नेतका अनुसार यही व्यवसायबाट पाँच जनाको परिवारको गुजारा चलिरहेको छ ।

स्ट्रबेरी खेतीले पहिलेभन्दा परिवारको आर्थिक अवस्था सुधार गरेको र व्यवसायबाट उनीहरू सन्तुष्ट रहेको बस्नेतले बताइन् । केही वर्षअघि जिल्लाका केही किसानले स्ट्रबेरी खेतीबारे अनभिज्ञ भए पनि सफलता पाएपछि अन्य किसानहरूमा पनि आकर्षण बढेको छ । सामाजिक सञ्जालमार्फत स्ट्रबेरी उत्पादनको खबर फैलिँदा खेतमै पुगेर फल किन्न र टिकटक बनाउन आउनेको सङ्ख्या पनि बढेको किसानहरूले बताएका छन् ।

बाँके राप्तीसोनारीका प्रेम पुन मगरले सामाजिक सञ्जालमार्फत स्ट्रबेरी खेतीबारे जानकारी पाएपछि अग्र्यानिक फल किन्न खेतमै पुगेको बताइन् । त्यस्तै, कोहलपुरकी निना चन्दले पनि आफ्नै क्षेत्रमा उत्पादन भएको अग्र्यानिक फल किन्न खेतमै पुगेको जनाइन् । किसान र उपभोक्ताको बढ्दो आकर्षणसँगै स्ट्रबेरी खेतीले राम्रो सम्भावना देखाए पनि सरकारी सहयोगको अभाव चुनौतीका रूपमा देखिएको छ ।

उत्पादनदेखि बजार व्यवस्थापनसम्म प्रभावकारी नीति र सहुलियत उपलब्ध गराउन सके युवाको रोजगारी समस्या समाधानमा समेत टेवा पुग्ने कोहलपुर–४ का किसान रमेश थापाले बताए । तर पर्याप्त नीति अभावका कारण बाँकेका किसानले सरकारी सहयोग र सहुलियत पाउन नसकेको थापाको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार