निर्वाचन आयोगले समानुपातिक प्रणाली तर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको केही दिनभित्रै नयाँ प्रधानमन्त्री नियुक्त हुनसक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले बताएका छन् । चैत ५ गते समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूले प्रमाणपत्र पाइसकेपछि मात्रै रास्वपासँग औपचारिक रूपमा संसद्मा बहुमत सदस्यहरू हुन्छन् ।
अहिले रास्वपाबाट प्रत्यक्ष प्रणालीतर्फ निर्वाचित १२५ जना सांसदहरूले मात्रै प्रमाणपत्र लिएका छन् । यो दलबाट समानुपातिक प्रणालीतर्फ निर्वाचित ५७ जना सांसदले प्रमाणपत्र पाउन बाँकी नै छ । प्रत्यक्षतर्फका १६५ सांसदलाई निर्वाचन क्षेत्रबाट तत्कालै प्रमाणपत्र दिएको निर्वाचन आयोगले समानुपातिक तर्फको अन्तिम नतिजा सोमवार मात्रै घोषणा गरेको थियो ।
आयोगले बिहीवार समानुपातिक प्रणालीबाट दलहरूले पाएको मतका आधारमा निर्वाचित ११० जना सांसदहरूलाई प्रमाणपत्र दिएलगत्तै त्यही दिन राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ । राष्ट्रपति कार्यालयका अनुसार आयोगले चैत ५ गते अपराह्न ४ बजे प्रतिवेदन बुझाउन समय माग गरेको छ ।
निर्वाचन आयोगले राष्ट्रपतिलाई अन्तिम प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठन र संसद्को काम सुरु गर्ने बाटो खुल्ने बताइएको छ । प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसकारण ढिलोमा पनि वैशाख १० गतेभित्र देशले नयाँ प्रधानमन्त्री नियुक्त गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको कानुनका जानकारहरू बताउँछन् ।
नयाँ संविधान जारी भएपछि पहिलो पटक एउटै दलले स्पष्ट बहुमत पाएको र बहुमतप्राप्त दलले पनि निर्वाचन अघि नै प्रधानमन्त्रीको उम्मेदवार तय गरिसकेका कारण नयाँ प्रधानमन्त्री बन्न अन्तिम समयसीमा पर्खन नपर्ने रास्वपा नेताहरू बताउँछन् । उनीहरूका अनुसार आगामी साताको सुरुमै देशले नयाँ प्रधानमन्त्री पाइसक्ने सम्भावना छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेअर बालेन्द्र शाह बालेनलाई नयाँ प्रधानमन्त्री बनाउने घोषणा गरेको थियो । पार्टी सभापतिसँग भएको उक्त सम्झौतापछि स्वतन्त्र निर्वाचित मेअर बालेन रास्वपा प्रवेश गरेका थिए । माघ ५ गते मधेशको जनकपुरमा रास्वपाको सभालाई सम्बोधन गर्दै बालेनले भनेका थिए, ‘आइ एगो मधेशीया छौँडा प्रधानमन्त्री बनेला हई’ अर्थात् ‘अब मधेशको केटो प्रधानमन्त्री बन्नेवाला छ ।’
रास्वपाको तयारी के छ ?
नेपालको शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीको नभएका करण रास्वपाले चुनावअघि घोषणा गरेर मात्रै पुग्दैन । नयाँ प्रधानमन्त्री चयनका लागि रास्वपाले आफ्नो संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ । संविधानको धारा ७६ को उपधारा १ ले बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था गरेको छ ।
जसकारण अन्तिम निर्वाचन परिणाम प्राप्त भएलगत्तै आफ्नो संसदीय दलको नेता चयन गर्ने तयारी रास्वपाले गरेको नेताहरूले बताएका छन् । रास्वपाको विधानले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया धेरै लामो राखेका कारण त्यसलाई संशोधन गर्ने विषयमा छलफल चलिरहेको विवरण आएका छन् । ‘मेरो व्यक्तिगत विचारमा छिटोमा चैत ९ वा १० गतेसम्म हुन सक्छ,’ रास्वपा नेता तथा पूर्वमन्त्री शिशिर खनालले भने । रास्वपाका अन्य नेताहरू पनि चैत ९ गते सोमवार नयाँ प्रधानमन्त्रीको शपथ हुन सक्ने बताउँछन् ।
राष्ट्रपति कार्यालयको तयारी के छ ?
राष्ट्रपति कार्यालयले हालसम्म नयाँ प्रधानमन्त्रीको शपथको मितिबारे कुनै जानकारी नभएको बताएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले शपथ कार्यक्रमका लागि आफूहरू तयारी अवस्थामै रहेको बताए । ‘हामी तयारी अवस्थामै छौँ । तर अहिलेसम्म कहिलेलाई तयारी गर्ने भन्ने कुनै जानकारी आएको छैन,’ शाक्यले भने ।
प्रधानमन्त्री बन्ने व्यक्तिले पहिले सांसदको शपथ लिनुपर्छ कि पर्दैन भन्नेमा कतिपय विज्ञले प्रश्न उठाएका छन् । तर यसअघि सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्पष्ट बहुमत भएको अवस्थामा राष्ट्रपतिले संसद्को पहिलो बैठक बस्नुअघि नै प्रधानमन्त्री नियुक्त गर्न सक्ने बताएका थिए ।
सत्यपाटी