२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

निर्वाचनमा झिनो र फराकिलो मतान्तरले हारजित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन २७ गते बुधबार

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक हुँदा केही उम्मेदवार यस्तो भाग्यमानी ठहरिए, जो प्रतिस्पर्धीलाई अत्यान्त झिनो मतले उछिनेर भए पनि निर्वाचित भए । तर केही उम्मेदवार भने निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पछि पारेर आरामसँग विजयी बने ।

यस्ता भाग्यमानी उम्मेदवारमध्येका एक हुन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट ओखलढुङ्गाका उम्मेदवार विश्वराज पोखरेल । पोखरेलले प्रतिस्पर्धीलाई मात्र पाँच मतको अन्तरले हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । पोखरेलले १३ हजार ९५३ मत ल्याए भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणनाको नतिजा अनुसार यो सबैभन्दा कम अन्तरको जित हो । यसैगरी अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर पनि प्रतिद्वन्द्वी भन्दा ५२६ मत बढी ल्याएर विजयी भए । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार भीमबहादुर रावललाई पराजित गरेका हुन् ।

स्वारले १० हजार ७५९ मत ल्याउँदा नेकपाका रावलले भने १० हजार २३३ मत मात्र ल्याए । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा पनि नेपाली कांग्रेसका भरतबहादुर खड्काले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतान्तरले पराजित गरे । खड्काले १४ हजार ८९७ र धामीले १४ हजार ११० मत ल्याए ।

एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का लालबहादुर थापालाई ५४० मतले पराजित गराए । गिरीले १७ हजार १७३ मत पाउँदा थापाका पक्षमा १६ हजार ६३३ मत मात्रै खस्यो । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा आफ्ना निकटतम प्रतिस्पर्धीलाई केवल ५६१ मतले पराजित गर्दै रास्वपाका उम्मेदवार गोविन्द पन्थी विजयी भए ।

पन्थीले १६ हजार ९६७ मत ल्याउँदा नेकपा (एमाले)का गोकर्ण विष्टले १६ हजार ४०६ मत ल्याए । यसैगरी दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापाले आफ्ना निकटतम प्रतिस्पर्धीलाई केवल ५७६ मतले पराजित गरिन् । उक्त निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम अनुसार थापाले १२ हजार ३७२ मत प्राप्त गर्दा दोस्रो स्थानमा हासिल गरेका नेकपा (एमाले)का उम्मेदवार रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याए ।

यसैगरी बाग्लुङ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सोम शर्माले नेपाली कांग्रेसका टेकराज पौडेललाई ७७९ मतान्तरले पराजय गराए । शर्माले १२ हजार ६४७ मत ल्याउँदा पौडेलले ११ हजार ८६८ मत मात्र ल्याए । सिन्धुली क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार धनेन्द्र कार्कीले नेकपा (एमाले) का प्रदीपकुमार कटुवाल क्षेत्रीलाई ७८४ मतले पराजित गरे । कार्कीले १६ हजार ६५९ र कटुवालले १५ हजार ८७५ मत प्राप्त गरे ।

एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बाले नेकपा (एमाले)का भानुभक्त ढकाललाई केवल ८७९ मतान्तरले हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । त्यस्तै इलाम क्षेत्र नं. १ मा नेपाली कांग्रेसका निस्कल राईले ९११ मतको अन्तरमा चुनाव जिते । गणनाका क्रममा कहिले अघि कहिले पछि हुँदै अन्तिम परिणाम आउँदा १४ हजार ५४३ मत प्राप्त गरेका राईका निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरेका थिए ।

जो धेरै मतान्तरले हारे

यो निर्वाचनका उम्मेदवारहरू थोरै मतान्तरले मात्रै पराजित भएका छैनन्, थुप्रै उम्मेदवार पराकिलो मतान्तरले पछि पार्दै विजयी पनि भएका छन् । सबैभन्दा ठुलो मतान्तरले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पराजित भए । उनी झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बालेन्द्र शाह (बालेन)सँग ४९ हजार ६१४ मतान्तरले पराजित भए । बालेनले ६८ हजार ३४८ मत ल्याएर विजयी हुँदा ओलीले १८ हजार ७३४ मत पाए ।

बालेनले मात्रै होइन, चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भए । लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त प्राप्त गरे । लामिछानेको मत खरेलको भन्दा ३९ हजार ८३८ बढी हो ।

त्यस्तै झापा क्षेत्र नं. २ बाट रास्वपाका तर्फबाट निर्वाचित भएकी पूर्वउपसभामुख इन्दिरा राना मगरले पूर्वसभामुख देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पराजित गरिन् । राना मगरले ६० हजार ११० मत ल्याउँदा घिमिरेले ११ हजार ३६८ मत मात्रै ल्याएको निर्वाचन आयोगले जनाएको छ । राना मगर र घिमिरे यसअघिका संसद्का सहकर्मी हुनु् ।

रास्वपाकै तर्फबाट चितवन क्षेत्र नं. ३ बाट निर्वाचित सोविता गौतमले ५९ हजार २७७ मत ल्याउँदा दोस्रो स्थान हासिल गरेकी भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएर नेकपाका तर्फबाट उम्मेदवार बनेकी रेणु दाहालले २० हजार ६१५ मत मात्रै ल्याइन् । चितवन क्षेत्र नं. १ बाट रास्वपाका हरि ढकालले ५८ हजार २०८ मत ल्याउँदा नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत मात्रै ल्याए ।

रुपन्देही क्षेत्र नं. ३ बाट रास्वपाका तर्फबाट उम्मेदवार बनेका डा.लेखजङ्ग थापाले ५८ हजार ८१५ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले आठ हजार ४३५ मत मात्रै ल्याए । रास्वपाकै तर्फबाट रुपन्देही क्षेत्र नं. २ बाट विजयी सुलभ खरेलले ५६ हजार ५५० मत ल्याउँदा नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत मात्रै ल्याए ।

रास्वपाका तर्फबाट सुनसरी क्षेत्र नं. २ बाट विजयी लालविक्रम थापाले ५७ हजार ३४८ मत ल्याउँदा नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत मात्रै ल्याए । निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनालाई विश्लेषण गर्दा फराकिलो मत अन्तरले विजयी हुनेमा अधिकांश उम्मेदवार रास्वपा छन् । रास्वपासँग फराकिलो मतान्तरले पराजित हुनेमा अधिकांश उम्मेदवार नेपाली कांग्रेस र नेकपा (एमाले)का छन् ।

प्रकाशित मिति : २०८२ फागुन २७ गते बुधबार