२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

ओलीको अहंकारले एमालेको हार, शीर्ष नेताहरू पत्तासाप

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन २४ गते आइतबार

अघिल्लो संसदमा दोस्रो ठूलो दल बनेको नेकपा (एमाले) यसपटक तेस्रो दल बन्न संघर्ष गरिरहेको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचन यता एमाले पहिलोपटक रक्षात्मक अवस्थामा पुगेको हो । हालसम्म शीर्ष नेताहरूको अधिकांश पराजय भइसकेको छ ।

पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा रहेकाहरू पनि हारको सामना गरिरहेका छन् । निर्वाचन आयोगका अद्यावधिक विवरण अनुसार बाँके–२ बाट मोहम्मद इस्तियाक राई, बझाङबाट ऐन महर, दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल, इलाम–२ बाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्रकुमार राई, ताप्लेजुङबाट क्षितिज थेबे र दार्चुलाबाट गणेशसिंह ठगुन्ना विजयी भएका छन् ।

एमालेले अहिलेसम्म कोशीबाट तीन, सुदूरपश्चिमबाट दुई, कर्णाली र लुम्बिनीबाट एक–एक जना जितेको छ । इलाम–१, संखुवासभा–१ र अछाम–२ मा काजिमान कागते, अर्जुनकुमार कार्की र यज्ञबहादुर बोगटीले अग्रता लिइरहेका छन् । समानुपातिकतर्फ एमालेले २९ लाख १० हजार ६७७ मत गणना हुँदा ४ लाख ३ हजार ८९९ मत पाएको छ ।

झापा–५ बाट अध्यक्ष केपी शर्मा ओली रास्वपाका बालेन शाहसँग पराजित भए । पाँचमध्ये तीन उपाध्यक्ष उम्मेदवार पनि पराजित भए, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ र गोकर्ण विष्ट। महासचिव शंकर पोखरेल दाङ–२ बाट, सचिव भानुभक्त ढकाल तेह्रथुमबाट, राजन भट्टराई काठमाडौं–४ बाट, महेश बस्नेत भक्तपुर–२ बाट, ईश्वर पोखरेल काठमाडौं–५ बाट पराजित भए ।

पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी–१ र सचिव शेरधन राई भोजपुरमा पनि पराजित भएका छन् । समग्रमा, एमाले यसपटक अनपेक्षितरूपमा कमजोर देखिएको छ, शीर्ष नेताहरूको हारले पार्टीलाई ठूलो धक्का लागेको छ ।

प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार