२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

नेपालमा पेट्रोलियम पदार्थ महँगिने संकेत

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन २३ गते शनिबार

मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ तीव्र रूपमा बढेको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य उकालो लागेको हो । शनिबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिव्यारेल १०३.२ डलर पुगेको अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्बन्धी वेबसाइट आयलप्राइस डटकमले जनाएको छ ।

मुरबान क्रुडको मूल्य करिब ९.२४ प्रतिशतले वृद्धि भएको छ । यस्तै ब्रेन्ट क्रुडको मूल्य ८.५२ प्रतिशत बढेर प्रतिव्यारेल ९२.६९ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) को मूल्य १२.२१ प्रतिशत बढेर ९०.९० डलरसम्म पुगेको छ । मध्यपूर्वमा जारी युद्ध लम्बिएमा तेलको मूल्य सन् २०२२ को रेकर्डभन्दा पनि माथि जान सक्ने अनुमान गरिएको छ ।

रुस–युक्रेन युद्ध सुरु हुँदा कच्चा तेलको मूल्य प्रतिव्यारेल १४० डलरसम्म पुगेको थियो । त्यसपछि भने क्रमशः घटेर ५५ डलरसम्म झरेको थियो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर बढिरहेकाले यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्टका अनुसार आपूर्तिमा तत्काल समस्या नआए पनि मूल्यमा भने दबाब पर्न सक्नेछ ।

गत शनिबार बिहानदेखि अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण तीव्र पारेका छन् । इरानको राजधानी तेहरानसहित विभिन्न क्षेत्रमा भीषण आक्रमण भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आक्रमणको जवाफमा इरानले कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, साउदी अरेबिया, जोर्डन तथा इजरायलतर्फ मिसाइल प्रहार गरेको बताइएको छ ।

यस घटनापछि मध्यपूर्व क्षेत्रमा हवाई उडान अवरुद्ध हुनुका साथै समुद्री यातायातसमेत प्रभावित भएको छ । युद्ध लम्बिएमा तेल उत्पादन तथा आपूर्तिमा ठूलो असर पर्ने विश्लेषकहरूले बताएका छन् । विशेषगरी विश्वको एकतिहाइभन्दा बढी कच्चा तेलको व्यापार हुने पर्सियन खाडी क्षेत्रको हर्मुज जलडमरू मार्ग प्रभावित भएपछि विश्व बजारमा तेल आपूर्तिको चिन्ता बढेको छ । यो मार्ग बन्द भए साउदी अरेबियालगायत प्रमुख तेल उत्पादक देशबाट हुने आपूर्तिमा असर पर्न सक्छ ।

यसअघि यो वर्ष विश्व तेल बजार अपेक्षाकृत कमजोर रहने अनुमान गरिएको थियो । तर अमेरिका–इरान तनावले ती प्रक्षेपणहरू परिवर्तन हुन सक्ने देखिएको छ । तेल कम्पनीहरूले सन् २०२६ को अन्त्यसम्म वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) को मूल्य प्रतिव्यारेल करिब ६२ डलर रहने अनुमान गरेका छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०२५ मा ब्रेन्ट क्रुडको औसत मूल्य प्रतिव्यारेल ६५.३२ डलर हुने अनुमान गरेको थियो ।

एजेन्सीका अनुसार सन् २०२६ मा ब्रेन्ट क्रुडको औसत मूल्य ५५.०८ डलर तथा डब्लुटिआईको औसत ५१.४२ डलर रहने अपेक्षा गरिएको छ । दीर्घकालीन रूपमा सन् २०२७ र २०२८ मा कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ६९ डलर तथा २०२९ र २०३० सम्ममा करिब ७५ डलरसम्म पुग्ने अनुमान गरिएको छ । कच्चा तेलको मूल्यसँगै विश्व बजारमा सुन र अमेरिकी डलरको भाउ पनि बढ्दै गएको छ । यसले विश्वव्यापी रूपमा महँगी बढ्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार