प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता लिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार शुक्रबार साँझ ११ बजेसम्म रास्वपाले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ चार, नेपाली कांग्रेसले तीन र नेपाली कम्युनिस्ट पार्टीले एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।
निर्वाचन परिणामको प्रारम्भिक नतिजामा प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये रास्वापाले १०७ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । प्रारम्भिक अग्रताको स्थिति कायम रहेमा प्रत्यक्षतर्फ रास्वपाले बहुमत प्राप्त गर्ने सुनिश्चित भएको छ । प्रत्यक्षतर्फ करिब १०७ पदमा अग्रता कायम गरेको रास्वपाले समानुपातिकतर्फ ३८ सिट प्राप्त गरे उसले १३८ भन्दा बढी सांसद लिएर स्पष्ट बहुमतका साथ सरकार गठनको दाबी पेस गर्नेछ ।
आमनिर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ छ र समानुपातिकतर्फ १४ गरी जम्मा २० सिट प्राप्त गरेको थियो । रास्वपा गठन भएको तेस्रो वर्षमै उसले स्पष्ट बहुमत प्राप्त गर्न लागेको हो । आयोगका अनुसार नेपाली कांग्रेसले थप १२ स्थानमा अग्रता कायम राखेको छ । नेकपा (एमाले) ११, नेपाली कम्युनिस्ट पार्टीले १०, श्रम संस्कृति पार्टीले चार, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र स्वतन्त्रको एक–एक गरी तीन स्थानमा अग्रता छ ।
तीन वर्षअघि भएको निर्वाचनमा ८९ सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बन्यो । एमालेले ७८ सांसदसहित दोस्रो र नेकपा (माओवादी केन्द्र) ले ३२ सांसदसहित तेस्रो ठुले दल बन्यो । सरकार गठन गर्ने तल्लो सदन प्रतिनिधि सभामा २७५ सदस्य रहने व्यवस्था छ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) बाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित हुने छन् ।
२६ वर्षपछि पुनः एकल बहुमत
निर्वाचन आयोगको प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको २७५ मध्ये १३८ सिट प्राप्त गरे उसले स्पष्ट बहुमत प्राप्त गर्ने छ । नेपालको निर्वाचन इतिहासमा २०५६ को आमनिर्वाचनपछि पहिलो पटक कुनै दलले एकल बहुमत पाउने स्थिति आएको छ । २०५६ वैशाख २० र जेठ ३ गरी दुई चरणमा सम्पन्न भएको निर्वाचनमा नेपाली कांग्रेसले २०५ सदस्य रहने तल्लो सदनको १११ सदस्य पदमा जित हासिल गरी स्पष्ट बहुमत ल्याएको थियो ।
नेकपा (एमाले) ले ७१ क्षेत्र जितेर दोस्रो ठुलो पार्टी बन्यो । सो निर्वाचनमा राप्रपाले ११ र नेपाल सद्भावना पार्टीले पाँच सिट जित्यो । त्यसअघि कांग्रेसले २०१५ र २०४८ को आमनिर्वाचनमा समेत स्पष्ट बहुमत प्राप्त गरेको थियो । २०४८ वैशाख २९ गते सम्पन्न आमनिर्वाचनमा नेपाली कांग्रेसका ११० जना सांसदहरू निर्वाचित भएका थिए । तर २०४८ को आमनिर्वाचनबाट गठित प्रतिनिधिसभाले पाँच बर्से कार्यकाल पूरा गर्न सकेन ।
सो निर्वाचनमा ३९ वटा राजनीतिक दलले भाग लिएका थिए । २०५१ असार २६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई धन्यवादको प्रस्तावद्वारा पारित गरियोस् भन्ने प्रस्तावउपर मतदान हुँदा प्रस्तावका पक्षमा जम्मा ७४ र विपक्षमा ८६ मत पर्यो । नीति तथा कार्यक्रम पारित हुन सकेन । प्रधानमन्त्री कोइरालाले राजीनामा गरी २०५१ कात्तिक २७ गते आमनिर्वाचनको मिति तोक्न सिफारिस गरे । सो निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेन ।
एमालेले ८८ सांसद जितेर पहिलो र कांग्रेसले ८३ सांसद जितेर दोस्रो ठुलो दल बन्यो । राप्रपाले २०, नेपाल सद्भावना पार्टीले तीन, नेमकिपाले चार र स्वतन्त्र सात जना सांसद निर्वाचित भए । २०५६ यता २०६५ र २०७० मा संविधान सभाको निर्वाचन तथा २०७४ र २०७९ गरी चार वटा निर्वाचन भए पनि कुनै पनि दलले एकल बहुमत ल्याउन सकेनन् । २०७४ को आमनिर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले बहुमत प्राप्त गर्यो तर प्रतिनिधि सभाको पूरा अवधि सो गठबन्धन टिक्न सकेन ।
सत्यपाटी