यसअघिका निर्वाचनमा दलबीच गठबन्धनका कारण मुख्य प्रतिस्पर्धाबारे अड्कल गरेको सुनिन्थ्यो । यसपटक दलहरुबीच एक्ला–एक्लै प्रतिस्पर्धाका कारण हारजित अनुमान गर्न सहज छैन । प्रतिनिधिसभा निर्वाचनमा यसपटक बाँके–२ मा एमालेबाट पूर्वमन्त्री मो.इस्तियाक राई प्रतिस्पर्धी छन् । उनलाई दुई युवाले टक्कर दिँदा तेस्रो स्थानतिर धकेलिने प्रक्षेपण गरिएको छ ।
भ्रष्टाचारको अन्त्य र सुशासनको नारा बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विवेक श्रेष्ठ र पूर्व प्रधानमन्त्री सुशील कोइरालाको विरासत कायम गर्न नेपाली काँग्रेसबाट सुधांशु कोइरालाले पूर्वमन्त्रीलाई सहजै पछार्ने प्रक्षेपण गरिएको छ । त्यसो त रास्वपाको देशभर उत्साहजनक अवस्था रहेकाले यहाँ पनि बाँके–२, मा रास्वपा पहिलो स्थानसहित विजयी हुने आँकलन गरिएको छ ।
पुराना दलहरु आफ्नै अस्तित्वको लडाइँमा छुट्टाछुट्टै मैदानमा छन्, जसले गर्दा पुराना दलको मत बाँडिने निश्चित छ र यसको प्रत्यक्ष लाभ रास्वपालाई पुग्ने नेपालगन्जबासीहरुको आँकलन छ । धेरैको चासोको विषय मात्र नभएर जनता समाजवादी पार्टी (जसपा)बाट कारबाही भोगेर एमालेको सुर्य चिन्ह लिएर उम्मेदवार बनेका पूर्वमन्त्री राईका लागि राजनीतिक भविष्य तय गर्ने ‘परीक्षा’ मानिएको छ ।
वि.सं. २०६४ र २०७४ मा विजयी भएका पूर्वमन्त्री राई यसपटक तेस्रो स्थानतिर धकेलिने आँकलन छ । राई दुई पटक संसद र मन्त्री हुँदा गरेको विकास जितको आधार भएको दावी गरे पनि उनको जनआधार कमजोर हुँदै गएको मतदाताहरुको आँकलन छ भने स्थानीय तहको मतको आधारमा यहाँ कांग्रेसका राणा बलियो देखिन्छ । यद्यपी यसपटकको चुनावमा मतदाताले पार्टीगत रूपमा रास्वपालाई बढी रुचाएको आँकलन छ ।
यसपटक पुराना दलहरु आफ्नै अस्तित्वको लडाइँमा छुट्टाछुट्टै मैदानमा छन्, जसले गर्दा पुराना दलको मत बाँडिने निश्चित छ र यसको प्रत्यक्ष लाभ रास्वपालाई पुग्न सक्छ । एमालेजस्तो क्याडर बेस पार्टीले उम्मेदवार नै नपाएर अन्य पार्टीबाट आयात गरि टिकट दिँदा नेतृत्वको ‘अन्तर्घात’का रुपमा बुझेका असन्तुष्ट एमाले समर्थकहरूले मौन रूपमा अर्को पक्षलाई सहयोग गर्न सक्ने एमाले स्रोतले बताएको छ ।
नाम नखुलाउने सर्तमा एक जना एमाले जिल्लास्तरका नेताले भने, ‘असन्तुष्ट एमाले समर्थकहरूले मौन रूपमा अर्को पक्षलाई सहयोग गरेमा वा चुनावमा निष्क्रिय बस्ने अवस्था छ । त्यसको फाइदा रास्वपालाई हुने देखिन्छ ।’ उनका अनुसार नेपालगन्जमा बलियो संगठन रहेको दावी गर्ने एमालेले निर्वाचनकै मुखमा आएर सधैं अरु पार्टीका नेतालाई टिकट दिँदा जिल्लाका एमाले कार्यकर्ताहरुमा चरम असन्तुष्टि रहेको देखिन्छ ।
रास्वपाका उम्मेदवार श्रेष्ठका लागि यसपटक अनुकूल वातावरणका धेरै पाटा छन् । पुराना दलहरुसँग रहेको ‘बौद्धिक’ मत रास्वपाको खातामा जोडिनु श्रेष्ठका लागि महत्त्वपूर्ण हुन्छ । विभिन्न समूहमा छरिएका साना र वैकल्पिक मतहरू तथा युवा मतदाताहरू ‘परिवर्तन’को नारा दिने रास्वपातर्फ बढी झुकाव राख्ने गरेकाले पनि रास्वपाले अन्य दलका उम्मेदवारलाई चुनौती दिने सामथ्र्य राख्न सक्ने नेपालगन्जबासीहरु बताउँछन् ।
विगतमा गठबन्धन गरेका पुराना दलहरुले यसपटकको चुनावमा कांग्रेसले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नै उम्मेदवार उठाउँदा पुराना दलहरुको मत काटिन सक्छ । २०७९ को निर्वाचन परिणामलाई मसिनो गरी केलाउँदा यसपटक रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले पुराना दलको साखलाई नराम्ररी हल्लाइदिने आँकलन गरिएको छ ।
मुख्यमन्त्री हुँदा गरेका कामको मूल्यांकनका आधारमा पनि मत प्राप्त हुने उनको भनाई छ । यद्यपी जेनजी आन्दोलनसँगै एमाले माथि भइरहेको प्रहार पूर्वमन्त्री राईका लागि मुख्य चुनौती बनेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि आउने अधिकांश प्रश्न उनीसामु पनि सोझिने गरेका छन् । ती प्रश्नहरु चिर्दै एमालेको मत बचाउने र अन्य लोकप्रिय मत प्राप्त गर्ने विषय उनका लागि निकै चुनौतीपूर्ण रहेको देखिन्छ ।
कांग्रेसको पुरानो जनाधार र पहिलो पटक परिक्षित हुने अवसर प्राप्त गरेका कारण जित्न सहज हुने काँग्रेसका उम्मेदवार सुधांशु कोइरालाको विश्वास छ । गत स्थानीय निर्वाचनको मत हेर्दा नेपालगन्ज नगरपालिका र डुडुवामा कांग्रेस पहिलो पार्टी नै रहेकाले काँग्रेसले जित्ने दावी गरिरहेको छ । उक्त मत बचाउँदै एक्लै निर्वाचनमा जीत निकाल्नु कोइरालाका लागि पनि चुनौती छ । यसपटक कुनै दलहरुबीच गठबन्धनमा नहुनु पनि रास्वपाका लागि केही सहज देखिन्छ ।
पछिल्लो समय पुराना र नयाँ राजनीतिक दलबीच प्रतिस्पर्धा चलिरहँदा श्रेष्ठ अन्य उम्मेद्वारका लागि चुनौती बनिरहेका छन् । जिल्लाको राजनीतिमा उनी नयाँ भए पनि देशभर चलिरहेको नयाँ पुरानोको संघर्षलाई मतमा बदल्न सकेमा उनले अन्य उम्मेदवारभन्दा श्रेष्ठ अगाडी उक्लिने देखिन्छ । पुराना दलहरु अहिले एक्लाएक्लै लड्दा उनीहरुको मत निकै संकुचित हुने र पुराना दलहरुप्रतिको वितृष्णले मतहरू विभाजित हुने र यसको प्रत्यक्ष फाइदा रास्वपालाई पुग्न सक्छ ।
रास्वपाका श्रेष्ठ पहिलो पटक निर्वाचन मैदानमा छन् । यसपटकको निर्वाचनमा बाँके–२ मा २० जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । यहाँका मतदातामा चुनावी चहलपहल बढ्दै गएको छ । उम्मेदवारहरूले घरदैलो अभियान सुरु गरिसकेका छन् । कोही एक्लै माइकिङ गर्दै हिँडेका छन् भने कोही दलबलसहित सडकमा भेटघाट र प्रचारमा जुटिरहेका छन् । अघिल्लो निर्वाचनमा विजयी भएको राप्रपाले यसलाई प्रतिष्ठाको विषय बनाएको छ ।
तीन पटक मन्त्री भइसकेका मोहम्मद इस्तियाक राईले आफूले गरेको विकासको आधारमा मत माग्दै पुनः विजयको दाबी गरिरहेका छन् । पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको यस निर्वाचन क्षेत्रमा मतदाताको झुकाव कता जान्छ भन्ने विषयमा अहिल्यै ठोकुवा गर्न सकिने अवस्था छैन । अघिल्लो निर्वाचनमा झिनो मत ल्याएको ‘घण्टी’ चिन्हले यसपटकको निर्वाचनलाई आक्रामक रूपमा अघि बढाइरहेको छ ।
सत्यपाटी