नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले सर्वोच्च अदालतको पछिल्लो भूमिका र राजनीतिक दलहरूबीचको चुनावी गठबन्धनको प्रयासमाथि तीखो व्यंग्य प्रहार गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै नेता बास्कोटाले अदालतको पछिल्लो शैलीलाई ‘हिउँ वर्षाएको’ संज्ञा दिँदै अबको विकल्प जनमत नै भएको उल्लेख गरेका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनाको चर्चा र अदालतको गतिविधिलाई लक्षित गर्दै बास्कोटाले लेखेका छन्, ‘सर्वोच्चले संसद् पुनःस्थापनाको आशामा हिउँ वर्षाएछ । अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ ।’ बास्कोटाको यो टिप्पणीले संसद्को आयुभन्दा पनि जनताको ताजा जनादेश नै राजनीतिक निकासको सही मार्ग भएको एमालेको संस्थापन पक्षीय अडानलाई प्रतिबिम्बित गरेको छ ।
आफ्नो स्वभावजन्य तार्किक र व्यंग्यात्मक शैलीमा प्रस्तुत भएका बास्कोटाले निर्वाचनको मुखमा हुन लागेको दलहरूको गठबन्धनप्रति पनि कटाक्ष गरेका छन् । नेताहरू मिल्दैमा जनताको मन मिल्छ भन्ने भ्रममा नपर्न उनले चेतावनी दिएका छन् । ‘गठबन्धन नेताको हुन्छ, तर मनबन्धन जनताको हुन्छ,’ बास्कोटाले चुनावी गणित र जनभावनाको भिन्नता केलाउँदै अगाडि लेखेका छन्, ‘गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ ।’
सत्यपाटी