२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

झापामा बालेनलाई सुरक्षा थ्रेट, ‘गोली हान्नुपर्छ’ भनेको भिडियो बाहिरियो

सत्यपाटीसत्यपाटी । झापा । २०८२ माघ ७ गते बुधबार

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र ५ चर्चामा छ । काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहले प्रधानमन्त्री बन्ने लक्ष्यका साथ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्न सोही क्षेत्र रोजेका कारण सबैको ध्यान यहीँ छ ।

मंगलबार दिनभर बालेनको मनोनयन दर्ता, उनको मनस्थिति, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको मनोनयन दर्ता, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङदेखि कांग्रेसकी उम्मेदवार मन्दरा पौडेल चिमरिया र राप्रपाका उम्मेदवार लक्ष्मी संग्रौलाले उम्मेदवार दर्ता गर्ने काम भयो ।

सोमबारको जनकपुरको कार्यक्रम सकेर उर्लाबारीस्थित आफ्नै ससुराली घरमा बसेर मंगलबार झापा ओर्लिएका बालेन कालो रङको कारमा थिए, तर निर्वाचन कार्यालयमा मनोनयन दर्तापछि उनलाई लिन सेतो कार पुगेको थियो ।

बालेन शाहलाई सुरक्षा थ्रेट !

१२ घण्टा अगाडि अर्थात् बिहान ६ बजेर ३८ मिनेटमा खुम झाँक्री मगर नामको फेसबुक आइडीबाट एउटा भिडियो अपलोड भएको छ, जसमा ‘बालेन शाहलाई गोली हान्नुपर्छ’ भनेर सम्वाद गरिएको छ । टिकटकमा भएको ग्रुप छलफलको स्क्रिनसर्टको रूपमा हालिएको यो भिडियो अहिले भाइरल बनेको छ ।

अडियोमा एक व्यक्तिले निकै आक्रामक शैलीमा भनेका छन्, ‘झापामै गोली ठोक्ने वातावरण बनाउनुपर्छ । जहाँबाट गए पनि झापामै गोल ठोक्ने ।’ संवादमा सहभागी अर्का व्यक्तिले बालेन शाहलाई झापामा छिर्न नदिने र भौतिक आक्रमण गर्ने आश्वासन दिँदै भनेका छन्, ‘त्यसले पिटाइ खान्छ, ढुक्क हुनु ।’

उनले बालेन शाह झापा आएको खण्डमा बाटो छेक्ने र कुटपिट गर्ने तयारी भइरहेको दाबी गरेका छन् । अडियोमा एमाले र त्यसका भ्रातृ संगठनहरूको नाम समेत मुछिएको छ । ‘एमालेले ठुलो शक्ति प्रयोग गर्नुपर्छ, साम–दाम–दण्ड–भेद भन्छ, त्यो गर्नैपर्छ । अगाडि पंक्तिमा युथ फोर्स, त्यसपछि भोलेन्टियर फोर्स र त्यसभन्दा पछाडि अनेरास्ववियु गरी तीन लेयर (तह) को तयारी छ ।’

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

बालेन शाहले यो संवादबारे उम्मेदवारी दर्ता गर्नु अगाडि नै थाहा पाएको सुरक्षा स्रोत दाबी गर्छ । शाहलाई अर्को झट्का लाग्यो, ‘एमाले र रास्वपाका कार्यकर्ताबीचको झडप ।’ मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयतर्फ अगाडि बढिसकेपछि रास्वपाका समर्थक र एमाले कार्यकर्ताबीच कुटाकुट र धकेलाधकेल भएको थियो, जुन कुरालाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार संरक्षित केही मानिसले शान्तिपूर्ण वातावरण बिथोल्न खोजेको टिप्पणी गरे ।

‘एमालेलाई एउटा पक्षले अस्वस्थ ढंगले जिस्काउन खोजे, अलिकति असभ्यता देखाए त्यहाँ, बाटो छेक्ने, डिस्टर्ब गर्ने जस्ता काम भएका छन्,’ ओलीले भने, ‘यो खालको व्यवहार हुनु हुँदैन । चुनाव शान्तिपूर्ण ढंगले हुनुपर्छ र शान्तिपूर्ण ढंगले नै जानुपर्छ । एमालेलाई जिस्काउनु र बिच्काउनु भनेको बढी जोखिमको कुरा हुन सक्छ र त्यो काम कसैले नगर्दा नै राम्रो हुन्छ ।’

उक्त झडप हुनु र ‘गोली हान्नुपर्छ’ भनेको भिडियो सार्वजनिक भएपछि बालेन शाहले आफूलाई सुरक्षा थ्रेटको महसुस गरेका थिए । ‘बालेन शाहले त्यसपछि आयोजित सभालाई सम्बोधन पनि गरेनन् र आफ्नो बाटो लागेका थिए । केही समय बालेन कहाँ गए भन्ने विषयमा सुरक्षाकर्मीलाई पनि थाहा भएन,’ उक्त स्रोत दाबी गर्छ । यद्यपि बालेन दमक–५ स्थित रास्वपा समर्थक लक्की सिटौलाको घरमा पुगेका थिए ।

त्यहाँ पुगेका सुरक्षाकर्मीहरूलाई बालेन समर्थक र्‍यापिड एक्सन टिमका सदस्यहरूले तपाईँहरू यहाँबाट जानुहोस् भनेका थिए । बालेनले आफू निकटकाहरूलाई प्रहरी र सुरक्षाकर्मीहरूले केपी शर्मा ओलीको सुरक्षामा बढी ध्यान दिएको तर, आफूलाई नदिएको भन्दै गुनासो गरेका थिए । उनलाई प्रहरीबाटै असुरक्षित भएको फिल भएछ । त्यही भएर उनको सुरक्षाकर्मीहरूलाई पनि झुक्याएर एक्लै हिँडेको स्रोत बताउँछ ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार