२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

कांग्रेसमा रिट हाल्न उक्साउने नेताहरूको गगनकै हस्ताक्षरमा उम्मेदवारी दर्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ६ गते मंगलबार

गगन थापा नेतृत्वकै कांग्रेस केन्द्रीय कार्यसमिति अवैधानिक भनेर अदालतमा दर्ता भएको रिटमा हस्ताक्षर गर्नेमध्येकै धेरैजसो नेताले थापाकै हस्ताक्षरबाट टिकट लिई उम्मेदवारी दर्ता गरेका छन् । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले मात्रै आफूले नैतिकताका आधारमा टिकट नलिएको जनाएका छन् ।

थापाको हस्ताक्षरमा सभापति शेरबहादुर देउवा आफै उम्मेदवार हुन चाहेका थिए । तर, थापा र उपसभापति विश्वप्रकाश शर्माले सक्रिय राजनीतिबाट अलग भई अभिभावकको भूमिकामा बसिदिन आग्रह गरेपछि देउवाको सचिवालयले सोमबार राति १२ पछि मात्रै उम्मेदवार नहुने निर्णय सार्वजनिक गरेको थियो ।

विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले गत शुक्रबार अद्यावधिक गर्ने निर्णय गरेपछि कानुनी उपचार र सडकबाट प्रतिवाद गर्नुपर्ने भनेर सबैभन्दा बढी चर्को आवाज उठाउनेमध्येका नेता विमलेन्द्र निधिले धनुषा–३ बाट थापाले हस्ताक्षर गरेको टिकट लिएर उम्मेदवारी दर्ता गराएका छन् ।

अर्का नेता महेन्द्र यादवले धनुषा–४ बाट टिकट लिई उम्मेदवारी मनोनयन हुँदैछ । त्यस्तै नुवकोट–१ बाट पूर्वप्रवक्ता प्रकाशशरण महतले उम्मेदवारी दर्ता गरेका छन् । अर्का नेता कञ्चनपुर–२ मा एनपी सावदले उम्मेदवारी दर्ता गराएका छन् । थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई अवैधानिक भन्दै यसअघिको केन्द्रीय कार्यसमितिमा रहेका १०० सदस्यको हस्ताक्षरसहित आइतबार खड्काले मुद्दा दयार गरेका थिए ।

हस्ताक्षर गर्नेमध्ये अरु पनि थ्रुपैले टिकट लिएका छन् । पूर्वपदाधिकारीमध्ये प्रकाशमान सिंह, विजयकुमार गच्छदार र शशांक कोइरालाले भने टिकट पाएनन् । त्यस्तै, पूर्व गृहमन्त्री रमेश लेखकको पनि टिकट काटिएको छ । टिकट नपाउनेमा संसदीय दलका पूर्वप्रमुख सचेतक श्याम घिमिरे पनि छन् । यद्यपी उनले रिटमा आफूले हस्ताक्षर नगरेको बताएका छन् ।

खड्काले आज बिहानै सामाजिक सञ्जालमा लेख्दै अवैधानिक भनिएको केन्द्रीय कार्यसमितिका सभापतिको हस्ताक्षरबाट जारी गरिने टिकबाट उम्मेदवार हुन आफ्नो जीवनभरिको राजनीतिक मूल्य, मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने भन्दै टिकट नलिएको जानकारी गराएका छन् ।

‘२०८२ माघ २ गते नेपाली कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दलसम्बन्धी ऐन र नेपाली कांग्रेसको विधानको विपरीत गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि २०८२ माघ ४ गते म स्वयं समेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी समेत भएकोले,’ फेसबुकमा खड्काले लेखेका छन् ।

उनले थप लेखेका छन्, ‘निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवनभरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा पार्टीका साथीहरु र आम मतदाताको माया, भरोसा र विश्वास मप्रति हुँदाहुँदै पनि यसपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको छु ।’ उनले रुख चिह्न लिएर आउने उम्मेदवारलाई विजयी गराउन मतदातासँग अपिलसमेत गरेका छन् ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार