नेपाली कांग्रेसले विशेष महाधिवेशनबारे निर्वाचन आयोगले लिएको निर्णयको स्वागत गर्दै लोकतन्त्र र विधानको विजय भएको बताएको छ । शनिबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले जारी गरेको निर्णयमा यो प्रक्रिया कसैको जित–हार नभई विधि र लोकतान्त्रिक अभ्यासको सफलता भएको उल्लेख गरिएको छ ।
‘निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ,’ प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा निर्णयमा भनिएको छ, ‘यो कसैको जित–हार होइन, यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ ।’
बैठकले पार्टीभित्र एकता, सद्भाव र सहकार्यको आवश्यकता औँल्याउँदै देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समिति तथा भातृ एवं शुभेच्छुक संस्थालाई फागुन २१ गते हुने निर्वाचनमा नवीन ऊर्जा र पूर्ण एकताका साथ सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ । त्यस्तै, विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका वा पार्टी छाडेका सबै नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा जोडिन बैठकले हार्दिक अपिल गरेको छ ।
बैठकले निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले कांग्रेस नेतृत्वमा रहँदै लामो समयसम्म पु¥याएको योगदानको उच्च कदर गर्दै धन्यवाद व्यक्त गरेको छ । साथै, देउवाबाट आगामी दिनमा पनि अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरिएको छ । कांग्रेसले आम नेपाली नागरिकप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँदै अब कुनै पनि अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौतामा नजाने स्पष्ट गरेको छ ।
बैठकको निर्णयमा मूल्य र सिद्धान्तमा अडिग रहँदै संविधानको रक्षा गर्ने, समृद्ध नेपालको नेतृत्व गर्ने तथा नवयुवाको आकांक्षा र जनताको अपेक्षा पूरा गर्ने संकल्प दोहोर्याइएको छ । केन्द्रीय कार्यसमितिले यो समयलाई कांग्रेसको नयाँ अध्याय–रूपान्तरण, एकता र विजयको चरणको रूपमा व्याख्या गर्दै समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन सबैलाई आग्रह गरेको छ ।
यस्ता छन् ६ निर्णय
१. निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ । यो कसैको जित–हार होइन– यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ ।
२. यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश–विदेशमा रहेका सवै काग्रेसजन, सवै तहका समितिहरू र सबै भातृ तथा सूभेच्छुक सस्थाका साथीहरूलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा शसक्त रूपमा सहभागि हुन हार्दिक आह्वान गरिन्छ ।
३. विभिन्न कारणले पार्टीबाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सवै साथीहरूलाई पार्टीमा पुनः जोडिन यो वैठक हार्दिकतापूर्वक आह्वान गर्दछ ।
४. यतिवेला हामी निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले नेपाली काग्रेसको नेतृत्वमा रहि लामो समयदेखि पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो बैठकले श्रद्देय नेताको अभिभावकिय भूमिका प्राप्त हुने विश्वास राख्दछ ।
५. नेपाली काग्रेस आम नेपाली नागरिक प्रति आफ्नो अटल प्रतिबद्धता पून दोह¥याउन चाहन्छ, अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुँने छैन । हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहने छौँ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने छौँ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौँ ।
६. यो नयाँ अध्याय हो, रुपान्तरणको, एकताको, विजयको ।
सवैमा अनुरोध छ, समुन्नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस् । थप स्नेह, विश्वास र साथ दिन सवैमा अनुरोध छ ।
जय नेपाल
देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस
