नेपाल एसबीआई बैंक घ्याङलेख–२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये चार जना पक्राउ परेका छन् । उनीहरूलाई घ्याङलेख–१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले चार जना पक्राउ परेको र थप जानकारी प्राप्त भइनसेको बताए ।
घ्याङलेख शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ । नकाबधारी तथा हतियारधारी ५–६ जनाको समूहले सो बैंकबाट करिब तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेर लगेकोमा एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको हो ।
खोजतलासका क्रममा लुटेराले लगेको रकम जंगलबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले बताए । राति करिब पौने ९ बजेतिर पाँच–छ जनाको समूहमा आएका लुटेराहरूले बैंकका गार्ड रुद्रबहादुर कार्कीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
त्यसपछि उनीहरूले बैंकका कर्मचारीहरूलाई समेत नियन्त्रणमा लिई बैंकको रकम लुटपाट गरेका थिए । लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको विएडी ०३९८ नम्बरको टाटा सुमो जिप र चालक भवतसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा लुटेराहरूको खोजी र घटनाको अनुसन्धान कार्य तीव्र पारिएको सुवेदीले जानकारी दिए ।
