२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

धम्बोझी-नन्दनी मिल सडक निर्माण सुरु

हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्ज–गुलरिया सडक खण्डको धम्बोझी चोकदेखि नन्दनी मिलसम्मको करिब दुई किलोमिटर सडक फराकिलो पार्ने गरी निर्माण सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सडक निर्माण कार्यको शुभारम्भ गरे ।

उनले जीर्ण सडक नयाँ निर्माणसँगै फराकिलो हुँदा सहरको सौन्दर्य र आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्धारित समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

निर्माण कम्पनी हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि दीपक खड्काले अवरोध नभए तोकिएको समयभन्दा अगावै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । हुलाकी सडक योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार सडक निर्माणका लागि ३९ करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

१२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । धम्बोझीदेखि नन्दनीमिलसम्म दर्जनौं घर लगायत अन्य संरचना सडक क्षेत्रभित्र भएका कारण हुलाकी राजमार्गलाई निर्माण कार्य अघि बढाउन कठिनाई भएको थियो । हाल सडक विस्तारका लागि सडक सीमाभित्र पर्ने संरचना स्थानीयवासीले हटाइसकेका छन् ।

नन्दनीमिल भन्दा पश्चिम सडक विस्तार भई आवागमनमा सहजता भएको छ भने धम्बोझीसम्म जीर्ण र साँघुरो भएका कारण आवागमनमा समस्या हुने गरेको छ । सडक विस्तार हुने खबरसँगै स्थानीयवासी, यात्रुहरूका साथै खजुरा, गुलरिया लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारी चालकहरूले पनि सडक विस्तारपछि यात्रा सहज हुने बताएका छन् ।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार