२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

निर्वाचन आयोग थाल्यो स्थानीय तह निर्वाचनको पूर्वतयारी

आगामी स्थानीय तह निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटेको छ । तयारीका विषयमा आयोगले आज राजनीतिक दलहरुसँग छलफल गरिरहेको छ ।

निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने पूर्व तयारीलाई अघि बढाएको आयोगले मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन र निर्वाचन सामग्रीको व्यवस्थापन सम्बन्धी काम गरिरहेको जनाएको छ ।

निर्वाचन आयोगको सूचना अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आगामी स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक गर्ने, मतदानस्थल र मतदान केन्द्रको पुनरावलोकन गर्ने तथा आवश्यक निर्वाचन सामग्रीको आँकलन गर्ने काम भइरहेको छ ।

आयोगले मतदानस्थल र मतदान केन्द्र मतदाताका लागि पायक पर्ने स्थानमा छन् वा छैनन् भन्ने विषयमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलसँग छलफल गरी सुझाव लिएको छ ।

स्थानीय तहमा संयुक्त बैठकबाट प्राप्त सिफारिसलाई जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहितको बैठकमार्फत पुनरावलोकन गर्ने काम भइरहेको भट्टराईले जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा आवश्यक पर्ने सामग्रीको विवरण संकलन गर्ने, आयोगसँग मौज्दात रहेको सामग्रीको अवस्था हेर्ने र अपुग हुने सामग्रीको परिमाण आँकलन गर्ने काम पनि भइरहेको छ । निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने नियमित पूर्वतयारीलाई आयोगले निरन्तरता दिएको भट्टराईले बताए ।

‘निर्वाचनको मिति घोषणा हुनुभन्दा अगाडि गर्नुपर्ने कामहरू अगाडि बढाइरहेका छौँ । निर्वाचनका लागि आवश्यक सामग्री कति चाहिन्छ, हामीसँग कति मौज्दात छ र कति अपुग हुन्छ भन्ने आँकलन गरिरहेका छौँ,’ भट्टराईले भने । निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन भने मिति घोषणा भएपछि मात्र गरिने आयोगको भनाइ छ ।

विगतका निर्वाचनको अनुभवका आधारमा आवश्यक कर्मचारीको संख्या, उपलब्धता र अपुग हुने जनशक्तिको विवरण निर्वाचन कार्यक्रम घोषणा भएपछि यकिन गरिने भट्टराईले बताए । अहिले कर्मचारी व्यवस्थापनको विषयमा आयोगले विशेष काम अघि नबढाएको उनको भनाइ छ ।

यसैबिच निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्व तयारीबारे आयोगले शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गर्दैछ । निर्वाचन आयुक्त सगुनशमशेर जबराका अनुसार दलहरूसँगको छलफलमा आगामी निर्वाचनको तयारी र व्यवस्थापनका विषयमा परामर्श गरिनेछ ।

राजनीतिक दलहरूसँगको छलफलपछि नेपाल सरकारसँग पनि परामर्श गरेर निर्वाचनको मिति तथा बाँकी तयारीका विषयमा थप निर्णय र प्रक्रिया अघि बढाइने आयुक्त जबराले जानकारी दिए । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ अनुसार निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल २०८४ जेठ ५ गते समाप्त हुँदैछ । आयोगले निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिनको तयारी अवधि आवश्यक पर्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर ४ गते शुक्रबार