२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल

सत्यपाटीसत्यपाटी । कैलाली । २०८२ मंसिर १६ गते मंगलबार

गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण निर्वाचन बिथोलिन नदिने बताएका छन् । मंगलबार (मंसिर १६) धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीका विषयमा धेरै अतिरञ्जित गर्न जरुरी नभएको उल्लेख गरे ।

जेनजी आन्दोलनको घटनामा लुटिएका ७२७ थान हतियार फिर्ता भइसकेको उनले बताए । चार हजार ५५२ कैदीबन्दी कारागारमा फिर्ता हुन बाँकी रहेका उनले जानकारी दिए । उनले फरार बाँकी कैदीबन्दीलाई पक्राउ गर्न ‘अपरेसन’ चलाइएको र लुटिएका थप हतियार पनि फिर्ता हुने क्रममा रहेको बताए ।

लोकतान्त्रिक पद्धतिमा चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, ‘सरकारले वार्ता, संवाद र छलफललाई प्राथमिकता दिएको छ । कसैलाई पनि काखा र पाखा नगरी सबैका कुरा सुनिरहेका छौँ । सबैका भावना समेट्दै चुनावमा होमिसकेका छौँ ।’

उनले विधिको शासन, हस्तक्षेपमुक्त प्रशासनसहित सुशासन कायम गरी तोकिएको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु सरकारको मुख्य उद्देश्य रहेको स्पष्ट पारे । गृहमन्त्री अर्यालले कुशासन, बेथितिका विरुद्ध जेनजी युवाले उठाएका माग र भदौ २३ र २४ गतेको घटनापश्चात् गृह प्रशासनले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहको प्रभावकारितामा निष्ठापूर्वक काम गरिरहेको बताए ।

नागरिक र सुरक्षाकर्मीबीचको सम्बन्ध सुदृढ हुँदै गएको बताउँदै उनले भने, ‘सुरक्षाकर्मीको मनोबल उच्च भयो भने मात्र नागरिक र राष्ट्रको मनोबल पनि उच्च हुन्छ ।’ उनले तोकिएको समयमा निर्वाचनको वातावरण बनाउने काममा प्रदेश सरकारको भूमिका पनि महत्त्वपूर्ण हुनेमा जोड दिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचनको वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘निर्वाचनमार्फत देशलाई सही मार्गमा लैजान सकिने भएकाले सबै एकजुट भएर निर्वाचनको वातावरण जरुरी छ ।’ आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले नेपाल सरकारले दलहरूसँग समन्वय गरेर सुरक्षाको उचित वातावरण बनाउनुपर्ने बताए ।

सुरक्षा गोष्ठी गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा सुरु भएको छ । गोष्ठीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, नेपाली सेनाका बलाधिकृत, नेपाली सेना सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति, गृह मन्त्रालयका कर्मचारी, प्रदेशका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखको सहभागिता छ । गोष्ठीमा प्रदेशस्तरीय सुरक्षा चुनौती लगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १६ गते मंगलबार