नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । १५ औं महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि कि पछि वा विशेष महाधिवेशन भन्ने विषयमा डेढ महिनाभन्दा बढीको रस्साकसीपछि सोमबार बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिबाट कार्यतालिका पारित गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको सूची बुझाउन तोकिएको कार्यतालिकाको एक दिनअघिबाट वडा अधिवेशनको कार्यतालिका ल्याएको कांग्रेसले पार्टीका सबै तहको कार्यताल माघसम्म थप गर्ने निर्णय पनि गरेको छ । महामन्त्री गगनकुमार थापाले पार्टीको कार्यकाल आफ्नो हातबाट थप गर्दै नगर्ने घोषणा गरे पनि केन्द्रीय समितिले सर्वसम्मतिबाट म्याद थप गरेको हो ।
‘२०८२ मंसिर २३ गतेभित्र पार्टीको १५औं महाधिवेशन गर्न सम्भव नभएको र महाधिवेशन तयारीका क्रममा गर्नुपर्ने सम्पूर्ण कार्यहरू गर्नसमेत थप समय आवश्यक भएकाले यस अवस्थालाई असाधारण स्थिति ठहर गरी नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८२ मंसिर २४ गतेदेखि लागु हुने गरी २०८२ माघ मसान्तसम्मका लागि थप गर्ने निर्णय गर्छ र यो निर्णय निर्वाचन आयोगलाई जानकारी दिनेछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
चार वर्षे कार्यकाल रहेको कांग्रेसमा विधानले नै थप एक वर्षसम्म म्याद थप गर्न सकिने व्यवस्था गरेको छ । सोहीबमोजिम म्याद थप गरिए पनि पुस २६ देखि महाधिवेशन हुनेमा आशंका गर्ने कांग्रेस नेता तथा कार्यकर्तालाई बल पुर्याएको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाको एक दिनअघिबाट कांग्रेसले अधिवेशन सुरु गर्ने तालिका ल्याएको छ ।
पार्टीको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार छनोटमा लामो रस्साकसी गर्ने गरेको पुस १६ गतेदेखि वडा अधिवेशन थाल्ने जनाइएको छ । छोटो समयसीमासहित ल्याइएको कार्यतालिका कार्यान्वयन कांग्रेसका लागि निकै चुनौतीपूर्ण देखिएको छ । महामन्त्री थापाको संयोजकत्वमा डेढ वर्षअघिदेखि क्रियाशील सदस्यता नवीकरण र नयाँको काम थाले पनि अहिलेसम्म उक्त काम अलपत्रजस्तै छ । त्यसलाई एक महिनाभित्र सम्पन्न गर्ने कांग्रेसले जनाएको छ ।
केन्द्रीय समितिबाट सोमबार पारित कार्यतालिका अनुसार मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्यता केन्द्रबाटै फारम वितरण गरिसक्ने र २४ गतेसम्म वडासम्म पुर्याउने जनाइएको छ । पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरणको काम सकेर पुस १४ गते केन्द्रीय सभापति वा कार्यवाहक सभापतिलाई सूची बुझाउने उल्लेख छ । अझ कांग्रेसले नयाँ क्रियाशील सदस्यताका विषयमा जिल्लास्तरीय प्रारम्भिक छानबिन समिति गठन गर्ने र त्यसले पुस १२ गतेभित्र केन्द्रलाई जानकारी पठाउने उल्लेख छ ।
त्यसरी परेको पुनरावेदनलाई पुस १४ गते अर्थात् दुई दिनमा सक्ने गरी कांग्रेसले कार्यतालिका बनाएको छ । १४ औं महाधिवेशनअघिकै क्रियाशील सदस्यता विवाद अझै सुल्झाउन नसकेको कांग्रेसका लागि उक्त कार्यसम्पादन गर्न सहज भने छैन । पार्टीका नेताहरू आआफ्नो अडानमा कायमै रहेपछि सक्रिय राजनीतिबाट बिस्तारै टाढिने मनस्थितिमा रहेका सभापति शेरबहादुर देउवाले अन्तिम समयमा हस्तक्षेप गरेपछि मात्र महाधिवेशनको कार्यतालिकामा सहमति भएको थियो ।
पार्टीभित्रका सबै पक्षलाई विश्वासमा लिएर सभापति देउवाकै आग्रह र निर्देशन अनुसार ल्याइएको कार्यतालिका अनुसार पुस १५ गतेभित्र विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन गरिसक्नुपर्ने उल्लेख छ । पुस १६ गते गाउँ–नगर वडा, पुस १७ गते गाउँपालिका–नगरपालिका, पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ । त्यस्तै एक मात्र प्रतिनिधिसभा भएका जिल्ला र क्षेत्रीय अधिवेशन पुस २१ गते र एकभन्दा बढी भएकाको हकमा पुस २२ गतेका लागि अधिवेशनको मिति तोकिएको छ । पुस २३ र २४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका ल्याएको कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनको पक्षमा उभिएका महामन्त्री थापाले पुस १६ देखि १५ औं महाधिवेशनको कार्यतालिका बैठकमा पेस गरेका थिए । त्यसको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख अन्तिम साता महाधिवेशन गर्ने गरी अर्को कार्यतालिका पेस गरेका थिए । दुवै आआफ्ना अडानमा रहेपछि सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साताको कार्यतालिका प्रस्ताव गरेका थिए ।
महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको आह्वानमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए । विशेष महाधिवेशनका लागि पछिल्ला दिनमा त्यसका पक्षधरले दबाब बढाउँदै लगे पनि डेढ महिना भन्दा बढी समय चलेको केन्द्रीय समिति बैठकमा उक्त विषयले प्रवेश नै पाएन । विशेष महाविधेशनले पार्टी विभाजनतर्फ जान सक्ने भन्दै नेता शेखर कोइराला पुसभित्र नियमित महाधिवेशनको पक्षमा उभिएका थिए ।
विशेष महाधिवेशन पक्षधरले दबाब बढाउँदै लगेपछि पार्टी विभाजनतर्फ उन्मुख हुन लागेको विश्लेषणसहित देउवाले निकटहरूलाई पुस अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउन सहमत गराएको निकट स्रोतको दाबी छ । यदि तोकिएको समयमै कांग्रेसको महाधिवेशन भयो भने त्यसको सम्पूर्ण परिणाम आउन कम्तीमा एक साता लाग्नेछ । कांग्रेस महाधिवेशनको परिणाम आउँदा नआउँदै प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको समय आइसक्नेछ ।
आयोगले माघ ६ गतेका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको क्रियाशील सदस्यता नयाँ र नवीकरणको मापदण्ड पनि पारित गरेको कांग्रेसले १५ औं महाधिवेशनसँग सम्बन्धित कार्यका लागि आवश्यकता अनुसार केन्द्रीय केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । त्यस्तो कार्य सभापति वा कार्यवाहक सभापतिले गर्ने जनाउँदै बैठकले विधान संशोधन मस्यौदा, क्रियाशील सदस्यता केन्द्रीय छानबिन र केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने निर्णय गरेको छ ।
राष्ट्रियसभा, प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गर्न पार्टीका निकायहरूलाई आग्रह गर्ने निर्णय गरेको कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निर्वाचन आयोगमा निवेदन दिने पनि निर्णय गरेको छ । भदौ २३ गतेको हिंसा र २४ गतेको विध्वंसपछि फेरिएको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक असोज २८ गते सुरु भएको थियो ।
भदौ २४ गतेपछि पहिलो पटक केन्द्रीय समितिमा सार्वजनिक भएका देउवाले बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको घोषणा गरेका थिए । कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका देउवा अन्तिममा स्वदेश फर्केका थिए । महाधिवेशन मितिमा पार्टी अनिर्णीत बनेपछि देउवाकै सक्रियातामा गाँठो फुकाएसँगै बैठक सकिएको छ ।

सत्यपाटी