नेकपा एमालेको आसन्न ११औँ महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेसँगै दुवै समूहको सक्रियता बढेको छ । मंगलबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेलले आफ्नो प्यानल घोषणा गरेका छैनन् ।
पोखरेलको टिमबाट पदाधिकारी दाबी गरेका एक नेताका अनुसार अहिले प्यानल घोषणा गर्ने बेला भएको छैन । उताको प्यानल सार्वजनिक भएपछि यताको पनि बाहिरिनेछ । स्रोतका अनुसार पोखरेल टिम विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा लगायत नेतासँग नियमित संवादमा छ । उनीहरू आएमा ईश्वरको टिम बलियो हुने उनीहरूको दाबी छ ।
पदाधिकारीमा नयाँ अनुहारमा अहिलेसम्म पुरुषोत्तम पौडेल, विन्दा पाण्डे, अरुण नेपाल, भीम आचार्य, कर्ण थापा, सीताकुमारी पौडेल, थममाया थापा लगायतले पोखरेलको टिमबाट पदाधिकारीमा उठ्ने तयारी गरेका छन् । पोखरेल समूहमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई लगायत खुलेर लागेका छन् ।
समावेशी र सकेसम्म विवादरहित नेता आफ्नो टिममा पार्न पोखरेल समूहको बैठक चरण–चरणमा जारी रहेको बताइएको छ । अर्कातर्फ मंगलबार नै पोखरेलले आफ्नो एजेन्डासमेत सार्वजनिक गरेका छन् । एजेन्डामा जेनजी आन्दोलनमा तत्कालीन सरकार प्रमुख भएको नाताले अध्यक्ष ओलीले घटनाको जम्मेवारी लिनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।
एक नेताका अनुसार १३ मंसिरमा प्रतिनिधि छनोट सकिएपछि कसलाई कुन पदमा उठाउने भन्ने छलफल हुनेछ । महाधिवेशन भनेको नयाँ नेतृत्व चयन गर्ने थलो हो । उनले स्वेच्छिक बिदा लिएर ईश्वर कमरेडका लागि सहज बनाइदिँदा राम्रो हुने बताइएको छ । यसैबीच, एमालेको निर्वाचन आयोगले चुनावअघि प्यानल घोषणा गर्न बन्देज लगाएको छ । तथापि केन्द्रीय महाधिवेशनबाटै यसको उल्लंघन हुँदै आएको छ । १०औँ महाधिवेशनमा यही निर्देशनका बाबजुद संस्थापन पक्षले नै प्यानल बनाएर चिट बाँडेको थियो ।
सत्यपाटी