डोल्पाको त्रिपुराकोट नगरपालिका–१, त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झन्डै २५ करोड रुपैयाँभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६, त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको सन्दर्भमा अर्को मार्गबाट पनि जुम्ला जोड्ने काम थालिएको हो ।
त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भई ठेक्का प्रणालीबाट २५ करोड ९९ लाख ८८ हजार रुपैयाँको बजेटमा स्तरोन्नतिको काम सुरु भएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिए । रारा र फोक्सुन्डो ताल पनि सडकको माध्यमबाट जोडिने उनले बताएका छन् ।
सडक स्तरोन्नतिपछि जुम्ला र डोल्पाका स्थानीयवासी तथा पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ । कर्णालीका दुई प्रमुख पर्यटकीय गन्तव्य नै सडकसँग जोडिएमा दुवै जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै स्थानीयले पर्यटक लक्षित व्यवसाय गरेर आर्थिक उपार्जनसमेत गर्न सक्ने उनले बताएका छन् । त्यसैगरी, चुँगाड, लिकु हुँदै बलाङ्ग्रा जोड्ने सडकका लागि चार करोड रुपैयाँ छुट्याइएकाले थपेर कामको सुरुवात हुने उनले बताए ।
बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भएको यस सडकखण्डलाई त्रिपुराकोट, छल, काइगाउँ, मौरेलेक, जुम्ला हुँदै मुगुको राराताल जोड्ने सडकका रूपमा लिइएको डोल्पास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख टेक हितानले जानकारी दिए । दुई वर्षभित्र स्तरोन्नति सक्नुपर्ने सडकको सम्झौता भने गत असारमा भएको थियो । निर्माण कम्पनीका अनुसार, त्रिपुराकोट–मौरे सडकको कुल लम्बाइ ६८ किलोमिटर छ ।