दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज (आइतबार)अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो ।
आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् । आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको आयोगले जनाएको छ ।
आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान समेत गरिसकेको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।
आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ । फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।