२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

नेकपा र भीम रावलबीच सातबुँदे सहमति (पत्रसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ कात्तिक २६ गते बुधबार

नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच एकता भएको छ । पेरिसडाँडामा बुधबार दिउँसो दुई पार्टीबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण भएको हो । सहमतिसँगै भीम रावल पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

सहमतिपत्रमा आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने उल्लेख छ । यसैगरी राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा तथा देशलाई सवल र जनतालाई समृद्ध तुल्याउनु पर्ने चुनौती रहेको पनि पत्रमा उल्लेख छ । यस्तै पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायत दस्ताबेज आपसमा मिलेर तयार गर्ने पनि सहमति पत्रमा उल्लेख छ ।

के छ सातबुँदे पत्रमा ?

(१) नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने ।

(२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने ।

(३) आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने । महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने । सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिस्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने ।

(४) नेपाली कम्युनिस्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा.भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।

(५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने ।

(६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने ।

(७) पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने ।

प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार