२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

सत्यपाटीसत्यपाटी । मधेश । २०८२ कात्तिक २२ गते शनिबार

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् । आज बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरूबीच उत्पन्न विवादका बीच मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको घोषणा गरेका हुन् ।

शनिबार प्रदेशसभाको बैठकमा विश्वासको मत लिने क्रममा असफल हुने देखिएपछि उनले सभामुख रामचन्द्र मण्डलसमक्ष राजीनामा बुझाएका हुन् । प्रदेशसभा बैठक विश्वासको मतका लागि दिउँसो बसेको थियो ।

तर, मुख्यमन्त्री सोनलले आवश्यक मत प्राप्त गर्ने सम्भावना नदेखिएपछि उनी बैठकबाट बाहिरिएका थिए । बैठक १० मिनेटका लागि स्थगित गरिए पनि डेढ घन्टासम्म सुचारु नभएपछि सोनलले राजीनामा दिने निर्णय लिएको स्रोतले जनाएको छ ।

त्यसपछि सभामुख रामचण्द्र मण्डलले मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुनजेलसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको घोषणा गरेका छन् ।

विश्वासको मत लिन नपाउँदै मधेसका मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उनले प्रदेशसभामा विश्वासको मत लिने वातावरण नरहेको भन्दै आफूले पदबाट राजीनामा दिएको बताएका छन् । मुख्यमन्त्री सोनलले प्रदेशसभामा सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएका छन् ।

प्रदेशसभाबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोनलले प्रदेशसभालाई नियन्त्रणमा राखेर संघीयतालाई नै समाप्त पार्ने खेल भइरहेको आभास भएकाले आफूले राजीनामा दिएको बताए । उनले सङ्घीय समाप्त पार्ने खेल भइरहेको बताउँदै लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् नगर्नेहरू प्रदेशसभा नै विघटन गर्ने तर्फ लागि परेको आरोप समेत लगाए ।

उनले भने, ‘सत्ता पक्षका माननीयहरू कोही केहीबेरका लागि बाहिर गए थिए, कोही खाजा खान निस्किएका थिए । त्यो देखेर आफूले सभामुखलाई आधा घण्टा रोकेर वातावरण बन्न दिन आग्रह गरेँ । तर पटकपटक बेल बजाइ राखेपछि आफू राजीनामा दिने निर्णयमा पुगे ।’

उनले आगामी दिनमा अर्को परिस्थितिको निर्माण हुनसक्ने बताउँदै जसले बहुमत पुर्याउँछ उसले सरकार वैधानिक ढङ्गले बनाओस् भन्ने अभिप्रायले आफूले मार्ग प्रशस्त गरेको बताए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनल संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

६ दलको समर्थनमा ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेपछि उनी सरकारको नेतृत्वमा पुगेका थिए । राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । प्रदेश प्रमुखले अब संविधान बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नेछन् ।

प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार