निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार पारेको छ । आगामी फागुन २१ गतेलाई निर्धारण भएको निर्वाचनका लागि आयोगले कार्य योजना तयार पारेको हो ।
आयोगको कार्य योजना अनुसार निर्वाचनको प्रचार–प्रसारका लागि १४ दिनको समय निर्धारण गरिएको छ । कार्ययोजनामा निर्वाचनको प्रचार–प्रसारका लागि फागुन ४ देखि १८ गतेसम्मको समयसीमा तोकिएको छ ।
निर्वाचन हुने समयभन्दा ४८ घण्टाअघिबाट मौन अवधि सुरु हुने भएकाले सो अघिसम्म प्रचारप्रसार गर्न पाउने आयोगको भनाइ छ । त्यस्तै फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुगि सक्नेछन् भने त्यसपछि जिल्लाका मतदान केन्द्रहरूमा पठाइनेछ ।
राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले उक्त समयसीमा बारे जानकारी गराएका हुन् ।
बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले संसदीय समितिलाई निर्वाचनको तयारीबारे जानकारी ब्रिफिङ गरेका हुन् । फागुन १२ गतेभित्र मतपत्र जिल्ला सदरमुकाम पुर्याउने र त्यसपछि मतदान केन्द्रमा पठाइने तयारी आयोगको छ ।
