२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

चार बर्षमै नयाँ दलमा विलीन भयो एकीकृत समाजवादी

माधवकुमार नेपाल र इन्सेटमा धनश्याम भुसाल र रामकुमारी झाँक्री । तस्वीर : नेपाल फोटो लाइब्रेरी

नेकपा (एमाले)बाट विभाजित हुँदा त्यो दलका सांसदहरूको एउटा टोली २ भदौ २०७८ मा बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेको थियो । त्यतिखेर पार्टी विभाजनको नेतृत्व गरिरहेका थिए पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । युवा नेत्री रामकुमारी झाँक्रीले नेपालको हात समातेर डोर्याउँदै निर्वाचन आयोगभित्र लगेको दृश्यले धेरैको ध्यान खिचेको थियो ।

तर, त्यसको चार वर्ष दुई महिना १८ दिन अर्थात् १९ कात्तिक २०८२ मा बहादुरभवनको त्यो दृश्यमा १८० डिग्रीको परिवर्तन देखिएको छ । एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) बनाएका नेपाल भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टीमा मिसिएका छन् भने झाँक्रीले नेपालसँगको यात्रा टुंगिएको घोषणा गरेकी छन् । उनले नेकपा (एकीकृत समाजवादी)मा आफू नरहेको घोषणासमेत गरेकी छन् ।

अनामनगरस्थित बसेरा होटलमा आयोजित कार्यक्रममा रामकुमारी झाँक्री । तस्वीर : नेपाल फोटो लाइब्रेरी

नेकपा (एकीकृत समाजवादी)सँगको नेपाल र झाँक्रीको चार वर्षे नाता टुटेको छ भने उनीहरू लगायतले मिलेर बनाएको नेकपा (एकीकृत समाजवादी) नेपाली कम्युनिस्ट पार्टी नामक नयाँ दलमा विलीन भएको छ । बुधबार बिहानै बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलन नै गरेर झाँक्रीले आफू नेकपा–एसमा नरहेको घोषणा गरिन् । चार वर्षअघिको बहादुरभवनको प्रसंगमा झाँक्रीले भनिन्, ‘त्यसको उत्तर समयले दिन्छ ।’

झाँक्रीले निसर्त एमालेमा फर्किने घोषणा गरेकी छन् । उनले एकीकृत समाजवादी पार्टी निर्माणको सुरुआतका दिनमा एउटा भयंकर अभियान चल्छ भन्ने ठानिएको बताइन् । उनको कथन थियो, ‘तर त्यो अध्याय आजदेखि समाप्त भएको छ । बाटो अवरुद्ध भएको समयमा कसरी अघि बढ्ने टुंगो गर्न पनि बाटोमै उभिनुपर्छ ।’ उता, नेकपा–एसका अध्यक्ष नेपाल र अर्का नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित केन्द्रीय कमिटीका बहुमत सदस्य नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

१० दल मिलेर बनेको नयाँ दलको घोषणासभा १९ कात्तिकमै भृकुटीमण्डपमा गरिएको थियो । झाँक्री र नेपालले अलग अलग बाटो तय गरे पनि नेकपा–एसका महासचिव घनश्याम भुसाल न एमालेतिर गएका छन् न नेपालसँग एकतामा सहभागी भएका छन् । उनले बृहत् कम्युनिस्ट एकताका लागि पुराना नेता बाधक भएको भन्दै नयाँ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

एकता घोषणासभामा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वामदेव गौतम लगायत । तस्वीर : नेपाल फोटो लाइब्रेरी

नेकपा (एकीकृत समाजवादी)का तीनथरी नेता तीनतिर लागेपछि त्यो दल औपचारिक रूपमा तीन टुक्रामा विभाजित भएको छ । कतिसम्म भने, निकै महत्त्वाकांक्षाका साथ गठन गरिएको त्यो दल राष्ट्रिय पार्टी बन्दै नबनी समाप्त भएको छ । नेकपा–एसका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री खनाल हिजो नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुन्डु पुगेका थिए ।

तर, अन्तिममा उनी नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणासभामा प्रकट भए । हुन पनि पूर्वप्रधानमन्त्री नेपाल नेपाली कम्युनिस्ट पार्टीको सहसंयोजक बनेका छन् भने खनालले तेस्रो वरीयता पाएका छन् । नयाँ दलको संयोजक चाहिँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएका छन् । एकता घोषणासभामा जानुअघि खनालले बुधबार बिहानै माओवादी केन्द्रका संयोजक दाहालसँग छलफल गरेका थिए ।

यसअघि उनले वाम एकताप्रति लिखित असहमति व्यक्त गरेका थिए । तर, बुधबार दिउँसो एकतामा जान नौ राजनीतिक दलको केन्द्रीय कमिटीको संयुक्त बैठकमा उनी सहभागी भएका थिए । भृकुटीमण्डपमा आयोजित समारोहमा खनालले भने, ‘म ढिलो आउनुको कारण छ । मैले कमरेड प्रचण्डलाई सबै कुरा भनेको छु । उहाँले मिलाउँछु भनेर प्रतिबद्धता जनाउनुभएको छ । त्यही विश्वासको आधारमा केही रिजर्भेसन भए पनि मिल्नुको विकल्प छैन भनेर एकतामा बल पुर्याउन म यहाँ आएको हुँ ।’

त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमा घनश्याम भुसाल । तस्वीर : नेपाल फोटो लाइब्रेरी

दाहाल, नेपाल र खनालले बनाएको नयाँ दलमा नेपाली कम्युनिस्ट पार्टीमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा (साम्यवादी), देशभक्त समाजवादी मोर्चा र नेपाल कम्युनिस्ट पार्टी समाहित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीको घोषणासभा हुनुअघि नेकपा–एसका महासचिव घनश्याम भुसालले त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गरेर बृहत् वामपन्थी एकताका लागि फरक अभियानको घोषणा गरेका छन् ।

भुसालले भनेका थिए, ‘हामीले संविधान नयाँ लेख्यौँ, राज्यव्यवस्था नयाँ बन्यो, बसाइँसराइ तथा बजारको विस्तारले समाजको संरचनामा नयाँ र ठूला परिवर्तन भए, राजनीतिक पार्टीका नारा र कार्यभार नयाँ भए, सबै कुरा नयाँ भए । तर, पुराना राजनीतिक पार्टीहरूको नेतृत्व बदलिएको छैन ।’ उनले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने बताए । भुसालसँग उपाध्यक्ष घनेन्द्र बस्नेत र जीवनराम श्रेष्ठ लगायतका नेता उपस्थित थिए ।

प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार