नेकपा माओवादी केन्द्रसहित नौं दलको एकतापछि बन्ने पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा जारी राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै नयाँ बन्ने पार्टीको बारेमा जानकारी गराएका हुन् ।
प्रचण्डले चुनाव चिन्ह भने पाँचकुने तारा रहने सहमति भइसकेको बताउदै पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने बताएका हुन् । आजको बैठकले एकताको निर्णय अनुमोदन गरेर सकिएको छ । बुधवार बिहान ११ बजे भृकुटीमण्डपमा एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ सहित नौ दलबीचको पार्टी एकता घोषणा हुनेछ ।
माओवादी नेता अग्नि सापकोटाले यसअघि सहमति पत्रमा हस्ताक्षर गरिसकेका दलहरूबीच औपचारिक एकता कार्यक्रम तय गरिएको बताए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीचमा पार्टी एकता हुदैछ ।
नेता सापकोटाले नयाँ पार्टी जनताको चाहनाअनुसार नीति–कार्यक्रम अघि बढाउने दाबी गर्दै भने, ‘अब देश समृद्धिको दिशामा अघि बढ्ने विश्वास गरेका छौं ।’ माओवादी सिद्धान्त तत्कालका लागि छाडिए पनि माओका विचारबारे सजीव छलफल गरेर पुनःस्थापना हुन सक्छ । अहिले एकता अपरिहार्य भएकाले माओवादी सिद्धान्तलाई स्थगित गरिएको हो ।’
सत्यपाटी