२०८३ भदौ १० , बुधबार 27, August 2026, Thursday

घुम्दैफिर्दै ‘तारा’ चुनाव चिह्न भएपछि बामदेव मख्ख

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत आठ कम्युनिस्ट घटकहरूबीच एकता प्रक्रिया अघि बढेसँगै नयाँ पार्टीको चुनाव चिन्ह ‘तारा’ राख्ने निर्णय भएको छ । यो निर्णयपछि राष्ट्रियसभा सदस्य तथा वरिष्ठ कम्युनिस्ट नेता बामदेव गौतमले आफू सबैभन्दा बढी खुसी भएको बताएका छन् ।

हिजो (आइतबार) बसेको आठ घटकका शीर्ष नेताहरूको संयुक्त बैठकमा गौतमले आफ्नो खुसी व्यक्त गर्दै भने, ‘यो चिन्ह मैले नै चुनेको हुँ । घुम्दैफिर्दै तारा र मेरो फेरि भेट भयो । म अत्यन्त खुसी छु ।’ २०५४ सालमा नेकपा (एमाले) बाट अलग भएर गौतमको नेतृत्वमा गठन भएको नेपाल मजदुर किसान पार्टी (माले) को चुनाव चिन्ह तारा नै थियो ।

२०५६ को आम निर्वाचनमा मालेका उम्मेदवारहरूले यही चिन्ह प्रयोग गरेका थिए । पछि गौतमले माले पार्टीलाई एमालेमै विलय गरेका थिए । तर, सीपी मैनालीसहित केही नेताहरू एमाले फर्किएनन् र उनीहरूले तारा चिन्ह जोगाएर राखेका थिए । अब त्यही चिन्ह नयाँ एकीकृत पार्टीले प्रयोग गर्ने भएको हो ।

संयोगवश, गौतम केही समयअघि मात्र नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । बैठकमा उनले भने, ‘मैले चुनेको चिन्ह पनि छोडेको थिएँ । फेरि यो चिन्हसँग मेरो भेट भयो ।’ नयाँ पार्टीको नाम भने अझै टुंगो लागेको छैन । नेकपा (समाजवादी), नेपाली कम्युनिस्ट पार्टी वा नेपाली कम्युनिस्ट पार्टी (समाजवादी) राख्ने विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार