२०८३ असार १० , बुधबार 24, June 2026, Wednesday

आज रिहा होलान् त विपिन लगायत बन्धक ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज २७ गते सोमबार
बन्धकका परिवारहरूसँग इजरायलका राष्ट्रपति इसाक हर्जोग ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धक रिहा गर्ने तयारी गरेको छ । तर रिहाइको सही समय स्पष्ट भइसकेको छैन । बन्धकमा नेपालका विपिन जोशी पनि छन् ।

समयसीमा के हो ?

हमासले बन्धकहरू रिहा गर्न स्थानीय समयअनुसार आज सोमबार दिउँसो १२ बजे (नेपाली समय दिउँसो २ः४५) सम्मको समय दिएको छ ।

इजरायलले के भन्यो ?

इजरायली सरकारका प्रवक्ता शोश बेद्रोसियानले स्थानीय समय सोमबार बिहान सबै २० जीवित बन्धक रेडक्रसलाई हस्तान्तरण गर्ने अपेक्षा गरिएको बताएका छन् । त्यसपछि उनीहरूलाई इजरायल ल्याइनेछ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल बन्धकहरूलाई लिन तयार रहेको बताएका छन् ।

गाजाबाट के जानकारी प्राप्त भएको छ ?

गाजाको हमास–नियन्त्रित नागरिक रक्षाले जीवित इजरायली बन्धकहरूको गणना पूरा गरिसकेको र उनीहरूलाई रिहाइ गर्नुअघि विभिन्न स्थानमा तितरबितर पारिएको छ । स्रोतहरूले बीबीसीलाई बताएअनुसार हमासले अझै पनि मारवान बरघौती र अहमद सदातलगायत सात उच्च–प्रोफाइल बन्दीहरूको रिहाइको माग गरिरहेको छ । ती सातमध्ये दुई जना पनि रिहा भए भने बाँकी रहेका सबै बन्धकहरूलाई आज रिहा गरिनेछ ।

अमेरिका के भनिरहेको छ ?

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले एनबीसीको ‘मिट द प्रेस’मा भनेका छन्, ‘बन्धकहरूलाई जुनसुकै बेला रिहा गर्न सकिन्छ ।’ उनले थपे, ‘राष्ट्रपति ट्रम्पले सोमबार इजरायल आइपुगेपछि रिहा गरिएका बन्धकहरूसँग भेट्नुहुनेछ ।’

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमबार