२०८३ असार १२ , शुक्रबार 27, June 2026, Saturday

प्रमुख प्रशासकीय अधिकृत भएर डुडुवा आइपुगे नारायण

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असोज २३ गते बिहीबार

डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नारायणबहादुर विष्टले जिम्मेवारी पाएकाछन् । विष्टले हिजो बुधबारदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।

पालिका कार्यालयमा बुधबार आयोजित परिचयात्मक कार्यक्रममा अध्यक्ष नरेन्द्रकुमार चौधरीले राजनीतिक रुपमा विपक्षीहरुले मेरो व्यक्तीगत चरित्र हत्या गर्ने किसिमको बदनाम गरेको भन्दै डुडुवाको समग्र विकास र मालिकहरुको सेवाका लागि संधै अघि बढिरहेको बताए ।

उनले केही व्यक्तीहरुको नीजि स्वार्थ पुरा नभएपछि आन्दोलनको नाममा मेरोविरुद्ध विभिन्न भ्रमपुर्ण सूचना भाईरल गरेको भन्दै मैले मालिकको लागि गरेको काम र विकास सबैको अगाडी छर्लङ्ग रहेको स्पष्ट पारे । राजनीतिक रुपमा मेरो प्रतिद्वन्द्वी भएर निर्वाचनमा पराजय व्यहोरेका व्यक्तीले अनावश्यक रुपमा पालिकालाई नै बदनाम गर्न लागेको अध्यक्ष चौधरीले बताए ।

त्यस अवसरमा जिम्मेवारी सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत विष्टले कानूनले दिएको अधिकारभित्र रहेर इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने र जनताको सेवामा सदैब कटिबद्ध भएर लाग्ने बताए ।

पाटन नगरपालिका बैतडीबाट सरुवा भएर आएका विष्ट यसअघि करिब १३ वटा स्थानीय तहमा काम गरेको कार्य अनुभव रहेको छ । कार्यालयमा हाजिर हुदैँ प्रमुख प्रशासकीय अधिकृत विष्टले पालिकाका सबै कर्मचारीहरुसँग परिचय तथा शाखाका काम कारबाही प्रगतिका बारेमा जानकारी लिएका थिए । पालिकामा यसअघि अशोककुमार पाण्डेयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार