२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

भारतमा प्रधानन्यायाधीश गवईमाथि अदालतभित्रै जुत्ता प्रहार

भारतका प्रधानन्यायाधीश बी.आर.गवईमाथि सोमबार बिहान सर्वोच्च अदालतभित्र जुत्ता प्रहार भएको छ । ७१ वर्षीय अधिवक्ता राकेश किशोरले कोठा नं.१ मा बिहान ११ः३५ बजे गवईतर्फ जुत्ता प्रहार गरेका हुन् । दिल्ली प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

किशोर मायूर विहारका बासिन्दा र सर्वोच्च अदालत बार एशोसिएशनका सदस्य हुन् । प्रहरीका अनुसार, किशोर मध्य प्रदेशको खजुराहोस्थित जवारी मन्दिरमा रहेको भगवान् विष्णुको भग्न मूर्ति पुनःस्थापना सम्बन्धी मुद्दामा गवईको टिप्पणीबाट असन्तुष्ट थिए । गवईले १६ सेप्टेम्बरमा उक्त याचिका खारेज गर्दै भनेका थिए, ‘यो प्रचारका लागि गरिएको मुद्दा हो । मूर्तिलाई केही गर्न भन्नुस्, प्रार्थना र ध्यान गर्नुस् ।’

घटनापछि किशोरलाई अदालतबाहिर निकाल्दा उनले चिच्याएर भने, ‘सनातन धर्मको अपमान हिन्दुस्तानले सहँदैन ।’ जुत्ता प्रहार हुँदा पनि गवई शान्त रहे र कारबाही जारी राख्न आग्रह गरे । उनले भने, ‘यसबाट विचलित नहोस्, मलाई फरक पर्दैन ।’ दिल्ली प्रहरीले गवईलाई ‘जेड प्लस’ सुरक्षा प्रदान गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज २० गते सोमबार