२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

नवरात्र पुजा सकिएसँगै बाँकेमा दुर्गा भवानीका मूर्ति विसर्जन

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असोज १७ गते शुक्रबार
दुर्गा मूर्ति विसर्जन जुलुसमा सहभागी युवा ।

दशैंको नवरात्रमा दुर्गा पूजाका लागि स्थापना गरिएका दुर्गा मूर्ति (प्रतिमा) विसर्जन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नवरात्र पूजाका लागि घटस्थापनाको दिनदेखि स्थापना गरिएका दुर्गा मूर्ति नदी तथा तालमा लगेर विसर्जन गरिएको हो । दुई लाखसम्म खर्चेर स्थापना गरिएका दुर्गा मूर्तिलाई श्रद्धालुहरूले नजिकका नदीहरूमा लगेर विसर्जन गर्छन् ।

आज सबै मूर्ति लगेर राप्ती नदीको सिधानिया घाटमा सेलाइनेछ । मूर्ति विसर्जन कार्यक्रमलाई सौहार्द, शान्तिपूर्ण बनाउन र सामाजिक सद्भावलाई ख्याल गर्दै विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । ‘दुर्गा मुर्ति विसर्जनमा कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाएका छौं,’ प्रजिअ जोशीले भने ।

उनले यस वर्ष दशैं अवधिभर जिल्लामा कुनै पनि अप्रिय घटना नभएको र जिल्लामा स्थापना गरिएका दुर्गा भवानीका मूर्तिहरु विसर्जन कार्य शान्तिपूर्ण तरिकाले भइरहेको जानकारी दिए । ट्रक, ट्रली लगायत विभिन्न सवारी साधनमा मूर्तिलाई राखेर लावा लस्करका साथ राप्ती नदीतर्फ लैजाने क्रम अहिले पनि चलिरहेको प्रहरीले जनाएको छ ।

बाजागाजासँगै बैण्ड बाजा बजाएर नाचगान गर्दै जय मातादीको नारा लगाउँदै श्रद्धालुहरू मूर्ति विसर्जनमा सहभागी भएका छन् । बाँकेका सहर बजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई ट्रक, ट्याक्टर लगायत सवारीसाधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाँचगान गर्दै राप्ती नदी र मान खोलामा लगेर सेलाइने गरिन्छ ।

मूर्ति सेलाउने क्रममा भक्तजनका लागि प्रसाद वितरण, भजन कीर्तनसमेत भइरहेको छ । शक्तिकी देवी मानिने दुर्गा भवानीको पूजाका लागि हरेक वर्ष बाँके लगायत तराईका जिल्लामा बजार र गाउँघरका चोकमा दुर्गा भगवती, सरस्वती, लक्ष्मी, गणेश, कार्तिकेय लगायतका अस्थायी मूर्ति स्थापना गरी नवरात्रभरि पूजा गर्ने चलन छ ।

माटोसँगै खर, डोरी, बाँस, सनपाट, पराल, भुस, काठको धुलो, रङ, कपडा लगायत प्रयोग गरी बनाइएका दुर्गा मूर्तिमा घटस्थापनादेखि महानवमीसम्म पूजा गरिन्छ भने दशैंको दिनदेखि विसर्जन सुरू हुन्छ । घटस्थापनाको दिनदेखि स्थापना गरिएको दुर्गाको मूर्ति नौ दिनसम्म विशेष पुजापाठ गरी दशैंको भोलिपल्ट सेलाउने परम्परा रहेको छ ।

स्थानीय समाजसेवी नन्दलाल वैश्यका अनुसार मूर्तिमा नौ दिनसम्म दुर्गा सप्तशतीको पाठ गर्ने गरिन्छ । नवमीका दिन विशेष पुर्णाहुति गरी पूजापाठ सकिन्छ । मूर्ति विसर्जन अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सक्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँके जिल्लाभर करिब ६०० दुर्गा मूर्ति रहेको अनुमान छ ।

नेपालगन्जमा मात्रै १५० भन्दा बढी मूर्ति पुजाका लागि स्थापना गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले आज बिहान १० बजेदेखि नै मूर्ति विर्सजन हुने रुट लगायत जिल्लाभरि सुरक्षा व्यवस्थापनका लागि एक हजार प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनले बाँकेमा करिब ६०० बढी दुर्गा मूर्ति विसर्जन गरिने अनुमान रहेको बताए । एसपी जिसीका अनुसार मूर्ति विसर्जन गरिने कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको छ । उनले दुर्गा मूर्ति विसर्जनलाई सभ्य र भव्य बनाउन सुरक्षा व्यवस्थालाई कडा पारिएको जनाएका छन् ।

उनले बाँके जिल्लाभर करिब एक हजार बढी सुरक्षाकर्मी तैनाथ गरिएको बताए । उनले सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका स्थानहरुमा विशेष फोकस गरेर बढी सतर्कता अपनाइएको जनाउँदै ती स्थानमा गत १२ घण्टा अगाडिबाटै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको बताए ।

सुरक्षालाई थप चुस्त दुरुस्त बनाउन नेपाल भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको जनाइएको छ । जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकएक वटा कमान्ड पोष्टसमेत स्थापना गरिएको छ भने आकस्मिक उद्धार र मद्दतका लागि नेपाली सेनाको टोली पनि खटिएको छ ।

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रबार