नेपाल बाहिरै बसोबास गर्ने गरी स्थायी र अस्थायी आवास अनुमति लिएर विदेशिने नेपालीको सङ्ख्या दुई लाख नाघेको छ । अध्यागमन विभागले हालै तयार पारेको नेपालीहरूको आप्रवास सम्बन्धी तथ्याङ्कीय विश्लेषण अनुसार सन् २०२४ मा स्थायीबासी (पर्मानेन्ट रेसिडेन्स), अस्थायी बसोबास (टेम्प्रेररी रेसिडेन्स) र आश्रित (डिपेन्डेन्ट) भिसा कुल दुई लाख एक हजार ५७१ व्यक्तिले देश छोडेका छन् ।
यो सङ्ख्या सन् २०२३ को तुलनामा ९.६ प्रतिशतले बढी हो । विभागको विवरण अनुसार सन् २०२३ मा एक लाख ८३ हजार ८७७ ले बसाइसराई प्रयोजनकै लागि नेपाल छाडेका थिए । विदेशमा रहेका नेपाली परिवारलाई भेट्नका लागि सन् २०२४ मा एक लाख ३१ हजार ७९६ जना नेपाली विदेश प्रस्थान गरेका थिए । सन् २०२३ को तुलनामा यो सङ्ख्या केही घटेको अध्यागमन विभागले जनाएको छ ।
सन् २०२३ मा विदेशमा रहेका परिवारलाई भेट्न एक लाख ६७ हजार ४८५ जना नेपाली विदेश गएका थिए । अध्यागमन विभागका अनुसार सन् २०२४ मा आठ लाख ५६ हजार ४२२ जना रोजगारीका लागि प्रस्थान गरेका थिए, जुन अघिल्लो वर्षको आठ लाख ०८ हजार ४१५ भन्दा करिब ४८ हजार बढी हो । यो नेपालबाट विभिन्न प्रयोजनका लागि विदेशिने नेपालीको ५१.१५ प्रतिशत हिस्सा हो ।
सन् २०२४ मा नेपालबाट विदेश गएका नेपालीहरूको संख्या १६ लाख ७४ हजार २२५ रहेको थियो । वैदेशिक रोजगारीमा गएका कुल नेपालीमध्ये झन्डै ९० प्रतिशत पुरुष रहेका छन् । यस्तै अध्ययन प्रयोजनकै लागि सन् २०२४ मा एक लाख १९ हजार ४०९ जनाले नेपाल छाडेका छन् । सन् २०२३ मा यस प्रयोजनका लागि एक लाख ८ हजार ५४२ जना विदेशिएको अध्यागमन विभागले जनाएको छ ।
अध्यागमन विभागका अनुसार सन् २०२४ मा सन् २०२४ मा दुई लाख ७४ हजार ४२८ जनाले नेपाल छाडेका थिए । यो सङख्या सन् २०२३ को दुई लाख ७४ हजार ५१८ जना रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार भ्रमणका उद्देश्यले जाने नेपालीहरूले मासिक औसत २० अर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् । यसमा अध्ययन र धार्मिक उद्देश्यले जाने नेपालीको खर्च जोडिएको छैन ।
सत्यपाटी