दशैं आउनु केहीदिन अगाडिदेखि विद्युतीय सञ्चारमाध्यम मङ्गल धुन बज्न थाल्छ । त्यसरी बज्ने दशैं गीतले झनै दशैंमा रौनकता थपिदिन्छ । नेपाली गीत सङ्गीतको इतिहासमा दशैंसम्बन्धी गीतले ठूलो महत्त्व राखेको छ । हिन्दू नेपाली यतिबेला दशैंको मध्यमा छन् ।
अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरू बन्द भएका छन् । परदेशिएका अनुकूल मिल्ने धेरै नेपाली घर फर्किएका छन् । विद्युतीय सञ्चारमाध्यममा दशैं गीत घन्किरहेका छन् । सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडबाड सम्बन्धी गीत गाउने गरेका छन् । धेरै दशैं गीत बज्ने गरे पनि दशैंभरि धेरै बज्ने केही गीतले नेपालीको मन छुने गरेको छ ।
१. दशैं आयो
वर्ष र दिनको रमाइलो चाड
घरघरमा आइपुग्यो
नेपालीजनको महान् पर्व
आँगनमा आइपुग्यो
हो….. दशैं आयो
हो……दशैं आयो ।
मालश्री धुनपछि ‘मुग्लान’ फिल्मको यो गीतले दशैंको भान दिन्छ । परदेशीहरू गाउँ फर्केको, दशैंमा ठूलाबडाबाट टीकासँगै आशीर्वाद लिएको, पिङ खेलेको, गाउँमा उमङ्ग छाएको यस्तैयस्तै आभास दिन्छ यो गीतले । दशैंका बेला गाउँशहरमा धेरै बज्ने गीत हो, यो ।
२. नमुछे आमा दहीमा टीका
दशैं आउनेवित्तिकै रेडियो र टिभीमा बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ । नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत २०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएपछि दशैं गीतको चर्चित गीत बन्यो ।
भारतीय सेनामा रहेका रायमाझीका दाइ लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ ताका यो गीत लेखेका थिए । नेपाली जनजीवनलाई बोकेको यो गीत यथार्थमा पनि मन छुने बनेको छ ।
३. विछोडको पिडा नसकी खप्न दशैंको बेलामा
दशैंसम्बन्धी गीत भन्ने बित्तिकै हामी यो गीतलाई सम्झिन्छौँ । कालजयी र नेपालीको दशैं झल्काउने आलाप बजेपछि दशैं आइसकेको अनुभूति हुन्छ । यो गीत दशैंसम्बन्धी पुरानो चर्चित गीत हो । सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए ।
त्यसपछि कलकत्तामा नारायण गोपाल र दिलमाया खातीको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो यो गीत । रेडियो नेपालमा दशैंको गीतमध्ये धेरै बजेको यो गीत अहिले सबै रेडियोले दशैंमा बजाउने गरेका छन् ।
४. दशैं नै हो कि यो मेरो दशा
यो गीत पनि दशैंको गीतमध्येको चर्चित गीत हो । योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दशैं गीतकै फरक स्वाद पाइन्छ । बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ ।
न्यु बज्राचार्यको सङ्गीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए । विसं २०५० ताका संवाद समेत हालेर बनेको यो गीत दशैंको परिचय जस्तै बनेको छ ।
५. कहाँ हो समुन्द्रपारि कर्मले डोर्यायो
कर्तव्यपालनको सिलसिलामा सात समुन्द्रपारि पुगेका नेपालीको कथा बोल्छ यस गीतले । चलचित्र ‘म तिमीबिना मरिहाल्छु’को यो गीतमा संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत सैनिकको ‘दशैं पीडा’ समेटिएको छ । साथीभाइको रमझममा रमाउन खोजे पनि आफू रमाउन नसकिरहेको, घरको यादले अति पिरोलेको कुरा ति सैनिक गीतमा पोख्छन् ।
६. वर्षमा दिनैमा लै लै…
सुगम पोखरेलको स्वरमा रहेको गीत ‘वर्षमा दिनैमा लै लै…’ दशैंको अर्को सदाबहार गीत हो । रवि श्रेष्ठको शब्द रहेको गीतमा सुगम स्वयंले सङ्गीत भरेका छन् । परदेशमा रहेको दाइले दशैं र तिहारमा घरपरिवारलाई गरेको सम्झना गीतमा समेटिएको छ ।
दशैंमा बोटोभरि आँखा फैलाएर बस्ने आमाबुवा र तिहारमा दाइको पर्खाइमा बस्ने बहिनीलाई दशैंमा आउने सन्देश यो गीतमा छ । परदेशमा चाडबाडमा काम गरेर बस्दा हुने पीडा समेटिएको यो गीतको भाका र शब्द जति मिठासपूर्ण छ, त्यति राम्रो भिडियो समेत बनेको छ ।
७. यसपालि दशैंमा ठूलो दाजु आउने रे
कुल पोखरेलको स्वरमा रहेको यो गीत दशैंसम्बन्धी गीतको अर्को चर्चित गीत हो । कूल पोखरेलको सम्झनामा अन्य गायकले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन् । कुल पोखरेललाई दशैंमा मज्जाले सम्झाउने गीत हो यो । नेपाली गीत सङ्गीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालबालिकाले समेत खुब मन पराउने गरेका छन् ।
८. यो दशैंमा म घर आइनँ
नेपाली लोकदोहोरी गीतमा दशैं गीत भन्ने बित्तिकै यो गीतको सम्झना आइहाल्छ । एसएसएस म्युजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन् । लोकदोहोरी मन नपराउनेले पनि यो गीत दशैं गीतको दोहोरीमा ऐतिहासिक गीतको रूपमा लिएका छन् । परदेशबाट घर फर्किन नसकेका नेपालीको पीडा यो गीतमा समेटिएको छ ।
९. रातो टीका दशैंको जमरा
नेपाली चलचित्रमा पनि दशैं तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ । मनमन्दिर चलचित्रमा रहेको यो गीतले पनि दशैंको झल्को ल्याउँछ । नायक राजेश हमाल र नायिका झरना थापाको नृत्य रहेको यो गीत अहिले पनि दशैंमा उत्तिकै बज्ने गर्दछ ।
१०. थालैभरि रातो रातो अक्षता र पाती
सुनिल गिरीको स्वर, सङ्गीत र शब्दमा आएको यो गीत पनि केही वर्षदेखि नियमित चर्चामा छ । रिकेस गुरुङ्ले एरेन्ज गरेको यो गीत युट्युबमा धेरैले मन पराएका छन् । दशैंमा लाहुरे फर्किएको र गाउँको रमाइलो क्षणहरू समेटिएको गिरीको यो गीत पनि दशैं गीतमा रुचाइएको गीत हो ।
११. प्रदेशबाट फरिया ल्याइदिउँला
शिव थापा मगरको स्वर, शब्द, सङ्गीतमा रहेको यो गीत पनि चर्चा कमाएको दशैं गीत हो । उदयराज पौडेलको सङ्गीत संयोजनसहित भाइब्स क्रियसनले बजारमा ल्याएको लोकपप शैलीको यो गीत पनि दशैंमा धेरैले सुन्न थालेका छन् । आजभोलि रेडियो, टीभी र विद्युतीय माध्यमा गुञ्जने यस्ता थुप्रै दशैं गीतहरू छन् । जसले दशैंको माहौलमा उल्लास थपिरहेका मात्र छैनन्, पीडादायक पनि बनाइरहेका छन् ।
०००
नौ रथाको दियो बाती
लहना चलचित्र
थुपतेन भुटिया र दिपा झाको स्वर
तुलसी घिमिरेको शब्द, सचिन सिंहको सङ्गीत रहेको गित
तिम्रै बाटो हेरी राछन्
अश्मिता अधिकारीको स्वर
महेश काफ्लेको शब्द र सङ्गीतमा बनृको यो गित दशैंमा आफ्नो परिवारबाट टाढा रहेका परदेशीहरुलाइ समर्पित छ । पर्खाइ र सम्झनामा बनिएको गीत स्वर, शब्द, सङ्गीतमा दशैंमा आउन आग्रह गरीएको छ ।
सत्यपाटी