२०८३ वैशाख १८ , शुक्रबार 2, May 2026, Saturday

दशैं सुरु भएसँगै आन्तरिक उडानमा चाप बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असोज ९ गते बिहीबार

बडादशैं सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक उडानमा चाप रहेको छ । आजका लागि आन्तरिकमा एकतर्फी १६७ उडान तालिका छन् ।

बुधबार १४१ उडान निर्धारण गरिएको भए पनि प्रतिकूल मौसमका कारण जम्मा १३५ मात्रै उडान भएका छन् भने आज बिहानैदेखि मौसम अनुकूल रहेकाले निरन्तर उडान भइरहेको जनाइएको छ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरका अनुसार बुधबार मौसमका कारण केही उडान स्थगित भएकाले आजका लागि निर्धारित उडानमा चाप बढेको छ ।

बुधबार दिउँसो ३ बजेपछि पोखरा र भैरहवाको सबै उडान रद्ध गरिएको बुद्ध एयरले जानकारी दिएको छ । कम्पनीले आज दुईतर्फ १७० उडान निर्धारण गरेको छ भने बुधबार १५० उडान निर्धारित थियो । दशैंमा यात्रु चापलाई मध्यनजर गर्दै भैरहवा र भरतपुरमा समान दुई उडान थप गरिएको बुद्ध एयरले जानकारी दिएको छ ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले विगत दुई दिनदेखि हवाई उडान चाप बढेको बताए । उनका अनुसार सडक आवागमन अवरुद्ध हुँदा हवाई उडानमा चाप बढेको छ । आइतबारसम्म यस्तो चाप रहने छ । हाल काठमाडौँबाट बाहिरिने यात्रु बढी भएको र काठमाडौँ फर्किने यात्रुको सङ्ख्या कम भएकाले हवाई भाडा केही महँगो भएको मानन्धरको भनाइ छ ।

श्री एयरलाइन्सले अहिले दैनिक दुईतर्फी ५० हाराहारी उडान गर्दै आएको छ । बुधबारदेखि शुक्रबारसम्म नियमित उडान भएमा आन्तरिकतर्फ उडान व्यवस्थापनमा सहज हुने उनले बताए । हाल समग्रमा आन्तरिकतर्फ दैनिक तीनसय ४० भन्दा बढी उडान भइरहेको छ । अन्तर्राष्ट्रियतर्फ पनि आवागमन बढी रहेको दैनिक दुईतर्फी ११० भन्दा बढी उडान भइरहेको छ ।

अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दशैं, तिहार तथा छठ लगायतका चाडपर्वमा यात्रुहरुलाई सहज हवाई यातायात उपलब्ध गराउन वायुसेवा कम्पनीलाई पथ उडान अनुमतिका लागि सहजीकरण गर्ने जनाएको छ ।

हवाई उडान सहजीकरणका लागि प्राधिकरणले आवश्यक सहजीकरण गर्ने क्यानले जनाएको छ । क्यानका अनुसार हवाई इन्धनको मूल्य अत्यधिक बढेकाले हवाई भाडा महँगो भइरहेको भन्दै राज्यका तर्फबाट हवाई भाडा नियन्त्रणका लागि इन्धनलगायतमा सहुलियत दिएर नीतिगत व्यवस्थापन गरिनुपर्नेमा जोड दिइएको छ ।

काठमाडौँबाट बाहिरिने मुख्य नाका मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा हवाई उडानमा चाप बढेको हो । विगत तीन–चार दिनदेखि पटक–पटक पहिरो खसेकाले पहिरो पन्छाएर सडक सञ्चालन गरिँदै आएको छ । उक्त क्षेत्रमा यही असोज ७ गते साँझ ठूलो पहिरो खसेर आवागमन अवरुद्ध भएको छ ।

हाल विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन भइरहेको छ। आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार