२०८३ वैशाख १८ , शुक्रबार 2, May 2026, Saturday

दशैं सुरु भएसँगै गाउँबस्तीमा चहलपहल बाक्लियो

सत्यपाटीसत्यपाटी । हुम्ला । २०८२ असोज ९ गते बिहीबार

रोजगारीका सिलसिलामा अन्यत्र रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन् । दशैं सुरु भएसँगै यहाँका गाउँघरमा नागरिकको चहपहल बाक्लिएको छ । दशैं–तिहार मनाउन हवाई र पैदल यात्राबाट हुम्ली दैनिक भित्रिन थालेपछि बर्खाका समयमा खाली हुँदै गएका गाउँबस्ती यतिबेला भने भरिन थालेका छन् ।

रोजगारीको सिलसिलामा जिल्ला बाहिर रहेका मात्रै नभएर अध्ययनका लागि काठमाडौँ, पोखरा, सुर्खेत, नेपालगन्ज लगायतका शहरमा रहेका विद्यार्थीसमेत दशैं मनाउन घर आएका कारण यतिबेला विभिन्न वस्तीमा चहलपहल बढेको छ । यस वर्ष जिल्लामा सडक पुगेपछि दशैंमा घर आउनेको सङ्ख्या पहिलेभन्दा झन् बढ्न थालेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक शंकर पोखरेलले बताए ।

कुबाडी प्रहरी चौकीलाई उदृत गर्दै यस वर्षको विगतको दशैंभन्दा हुम्ला आउने सवारीसाधनको सङ्ख्यामा वृद्धि भएको उनले बताए । गत वर्षमा केही मात्रामा मात्रै आउने गरेको भए पनि अहिले सडक आएपछि दशैंको फूलपातीअघि नै गाउँ भरिभराउ हुन थालेका छन् । शहर खाली हुँदै गएपछि गाउँघर रमाइलो देखिनुका साथै भरिभराउ हुँदै आएका छन् । यतिबेला गाउँघरमा सबैको जमघट हुनु साथै दशैं, तिहार जस्ताले पारिवारिक एक किसिमको सौहार्द वातावरण सिर्जना गरेको राजबहादुर भण्डारीले बताए ।

उतिबेला जिल्लाको सदरमुकाम सिमकोटसमेतमा मानिसको चहलपहलसमेत विस्तारै घट्दै गएको छ । काम, अध्ययन र रोजगारी लगायतका सिलसिलामा सिमकोट बसेका नागरिक दशैं मनाउन गाउँ जान थालेपछि सदरमुकाममा मानिसको चहलपहल घट्दै जान थालेको हो । गाउँमा रहेको बेरोजगारीले प्रदेसिन बाध्य हुने गरेको भए पनि दशैं तिहार लगायतका चाँडपर्वमा आफू सधैँ घर फर्किने गरेको अदानचुली गाउँपालिकाका स्थानीय चामुण्डा रोकायाले बताए ।

गाउँमा रोजगारीको अवसर नमिल्दा हुम्लाका अधिकांश बेरोजगार युवा बर्खाको खेतीपाती सकाएर दशैं खर्चको जोहो गर्न माथिल्लो हुम्लाको सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका युवा चीनको ताक्लाकोटमा जाने गर्दछन् भने तल्लो हुम्लाको सर्केगाड, ताँजकोट, अदानचुली, चङ्खेली गाउँपालिकाका प्रायः जसो युवा भारतमा जाने गर्छन् ।

कात्तिक–मङ्सिरमा उवा, गहुँ, जौँ र असारमा कोदो, चिनो, आलु, मकै, धान कोदो खेती लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि कामको खोजीमा छिमेकी देशमा कामको खोजीमा जाने गर्छन् । जिल्लाका नागरीक कामको खोजीमा अन्यत्र जानुपर्ने बाध्यता जस्तै बनेको छ । यहाँका स्थानीयको यो बाध्यता अहिले नभई पहिलेका पुस्तादेखि नै चलिआएको सिमकोट गाउँपालिका–१ का प्रेम भण्डारीले बताए । गाउँमै रोजगारी नहुँनुका साथै कृषिप्रति युवाको आकर्षण घटेका कारण बढी जसो युवा ताक्लाकोट पुग्ने गर्दछन् ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार