दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यका छोड्नेहरूको संख्या बढिरहेको छ । स्कूल र कलेजहरूमा बिदा सुरु भएसँगै काठमाडौंको गोंगबु बस पार्कमा बिहानैदेखि काठमाडौं छोड्नेहरूको भीड लागेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनाको दिनदेखि हालसम्म करिब एक लाख ३८ हजार २९६ जनाले उपत्यका छाडिसकेका छन् ।
यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुला नगरिए पनि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले एक दिनअघि टिकट लिने व्यवस्था मिलाएको छ । जसका कारण टिकट लिनेहरूको पनि गोंगबु बस पार्कमा भीड देखिएको छ । हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लागेको छ ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार
सत्यपाटी