चाड पर्व नजिकियो । कर्म क्षेत्रमा रहेका मानिस थातथलो फर्किने क्रम शुरु भएको छ भने शहर बजारमा किनेमल गर्ने भिडभाड देखिन थालेको छ । दशैं हिन्दू धर्मावलम्बीको महान पर्व पनि हो । दशैंलगत्तै तिहार र छठ पर्व पनि आउँदैछन् । दशैं र तिहारजस्ता चाडपर्व विशेष रुपमा र लामो अवधिसम्म पनि मनाइन्छ । तर यसपटक चाडपर्व मनाउने सहज अवस्था छैन ।
जेनजी आन्दोलनले निम्त्याएको बिनास र ध्वंसबीच दशैं सुरु भएको छ । नेपाली नागरिकको मन मस्तिष्कमा जेनजी आन्दोलनपछिको कोलाहलपूर्ण अवस्थाको त्रास कायमै छ । अझ नेपाल–भारत खुला सीमाका कारण दशैंका बेला सीमा नजिकका जिल्लामा आपराधिक घटनाको त्रास धेरै छ । नागरिकको मनस्थिति पर्वमय अर्थात् उल्लासमय देखिँदैन ।
जेनजी आन्दोलनमा भएको घुसपैठका कारण हजारौं सरकारी संरचनाहरु ध्वस्त भएका छन् । खाशगरी देशका ठूला शहरहरुका सरकारी संरचनाहरु खरानीमा परिणत भएका छन् । यस्तो अवस्थामा अनेकन खालका अपराधीहरु सक्रिय हुन सक्ने देखिन्छ । विशेषतः दशैँ, तिहारजस्ता चाडपर्वको मौका छोपेर अपराधीहरुले विभिन्न अपराधका गतिविधि बढाउने सक्ने चुनौति छ ।
चाडपर्वका बेला पुजापाठ बढी हुने भएकाले मठमन्दिर, धार्मिक स्थलमा पनि दर्शनार्थीको भिडसँगै चोरीका घट्ना पनि बढने सम्भावना रहन्छ । ओहोरदोहोर बढी हुने भएकाले यातायात सेवा सहज नहुन सक्छ । सवारी साधान भरीभराउ हुने भएकाले यात्रु ठगिन सक्ने, लुटिन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । राजमार्गमा लुटपाटका घटना पनि बढ्न सक्छन् ।
अघिपछिको समयभन्दा चाडपर्वको समयमा आपराधिक घटनाहरु अत्यधिक हुने गरेको विगतका तथ्यांकहरुले देखाउँछन् । अन्य समयभन्दा बढी चाडपर्वका बेला किनमेल बढी हुने भएकाले आर्थिक कारोबार पनि सोही अनुसार भइरहेको हुन्छ । बैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा बढी भिडभाड बढने भएकाले ती क्षेत्रमा चोरी, लुटपाट हुने सम्भावना अधिक हुन्छ ।
आजभोली सामाजिक सञ्जालको पनि अनावश्यक प्रयोग भइरहेको हुन्छ । आफू कुन दिन कहाँ जाँदैछु भन्ने कुरा सामाजिक सञ्जालमा असावधानीवश व्यक्त गर्दा चोर्ने मौका कुरेर बसेका व्यक्तिलाई थाहा हुन्छ र उनीहरू मौका छोपेर सोही समयमा घरमा चोरी गर्न सक्छन् । चाडपर्वको समयमा सीमा सुरक्षा र खुला सीमाका कारण सुरक्षा जोखिम उच्च रहन्छ ।
चाडपर्वमा हुने सम्भावित आपराधिक घटना, कालोबजारी र अन्य सुरक्षा चुनौतीलाई लिएर बाँकेमा स्थानीय प्रशासनले बुधबार सर्वदलीय सर्वपक्षिय बैठक राखेरै जेनजी आन्दोलनको समिक्षा र चाडपर्व लक्षित छलफल चलाएको छ । जेनजी आन्दोलनमा भएका आगजनी र तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाहीको माग गरिएको छ ।
जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवाहरुले आगजनी र तोडफोडमा संलग्नलाई राजनीति संरक्षण दिन नहुने बताउँदै अपराधिक सोंच भएका व्यक्तिहरु चाडपर्वका बेला धार्मिक द्वन्द्व गराउन सक्रिय हुने चुनौति रहेकाले त्यसतर्फ बाँके प्रशासन र सुरक्षाकर्मी सचेत हुनुपर्ने औल्याए ।
‘जेनजी आन्दोलनमा घुसपैठ गर्नेहरुलाई हदैसम्मको कारबाही गर्नुपर्छ । त्यस्ता व्यक्तिहरुलाई राजनीतिक संरक्षण कुनै दलले दिनुहुँदैन,’ नेकपा एमालेका उपसचिव किशोर थापाले भने, ‘जेनजी आन्दोलन लगत्तै चाडपर्व सुरु भएका छन् । यस्तो अवस्थामा विशेषगरी स्थानीय प्रशासनले चाडपर्वलाई सुरक्षित बनाउने रणनीतिसहित सीमा क्षेत्रमा कडा निगरानी गर्नुपर्छ ।’
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक ‘तुफान’ले जेनजी आन्दोलन सकिएपछि भएको विध्वंस नियतबस भएकाले विध्वंसमा संलग्न व्यक्तिहरु चाडपर्वको समयमा धार्मिक तथा अपराधिक गतिविधिमा संलग्न हुने खतरा रहेको बताए । ‘विध्वंसमा संलग्न व्यक्तिहरुलाई निगरानीमा राख्दै चाडपर्वका बेला सबैपक्षको सहकार्य आवश्यक छ,’ उनले भने ।
कोहलपुर नगरपालिकाका प्रमूख पूर्णप्रसाद आचार्यले लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरुको मनोवल अझै उच्च रहेकाले त्यस्ता व्यक्तिहरुलाई उच्च निगरानीमा राख्नुपर्ने बताए । उनले भने, ‘कारागारबाट भागेका कैदीबन्दीहरुका कारण समाज अझै त्रसित छ, यस्तो अवस्थामा स्थानीय प्रशासनले नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्छ ।’
नेपालगन्ज उपमहानगरपालिकाका प्रमूख प्रशान्त बिष्टले जेनजी आन्दोलनका समयमा प्रशासनीक भवनहरु जलिरहँदा त्रसित भएका नागरिकहरुको मनोबल कमजोर बनेको बताए । उनले भने, ‘जेनजी आन्दोलनमा संलग्नहरुमाथि कारबाही गर्न सुरक्षा संयन्त्र तत्पर रहनुपर्छ । त्यस्ता व्यक्तिलाई जोगाउन राजनीतिक दलहरुको प्रेसर र दबाव हुनुहुँदैन ।’

उनले चाडपर्वका बेला सामाजिक सञ्जालमार्फत धार्मिक द्वन्द्व मच्चाउन अतिवादीहरु सक्रिय हुने भएकाले त्यसमाथि पनि उच्च निगरानी हुनुपर्ने बताए । ‘खरानी भएको मनोवललाई उठाउँदै चाडपर्वलाई भयरहित बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्छ । सासमाजिक सद्भाव भड्काउनेहरुका बारेमा निगरानी बढाउनुपर्छ,’ प्रमूख बिष्टले भने ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसीले चाडपर्वको समयमा सीमा सुरक्षा र खुला सीमाका कारण हुने सुरक्षा चुनौतिलाई ध्यान दिएर नेपाल प्रहरीले सुक्ष्म रणनीति बनाएर अघि बढेको बताए । उनले भने, ‘चाडपर्वलाई सुरक्षित बनाउन सुरक्षा निकायको एकल प्रयास मात्र पर्याप्त हुन्न । नागरिकको सहयोगको पनि अपेक्षा गरेका छौं ।’
चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप रोक्न र सुरक्षित वातावरण बनाउन प्रहरीका तर्फबाट कुनै कसर बाँकी नरहने प्रतिवद्धता जनाउँदै जेनजी आन्दोलनपछि देखाएका जोखिमहरुको पहिचान गरी नागरिकलाई सहज, सुरक्षित र भयरहित रुपमा चाडपर्व मनाउने व्यवस्था मिलाउन जिल्ला मातहतका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिइसकेको बताए ।
प्रहरी उपरीक्षक जिसीले अपराध हुन सक्ने सम्भावित स्थानको पहिचान गरी गस्ती, सुराकी बढाउने, सम्भावित संलग्नहरुको अनुमान गरी विशेष निगरानी गर्नुका साथै आपराधिक गतिविधि हुन नदिन सुरक्षा संवेदनशीलतालाई अरु बेलाभन्दा थप चनाखो र अग्रसर बनाएर सम्भावित अपराधलाई हुनै नदिन प्रहरी सक्रियपूर्वक खटिएको बताए ।
बाँकेका प्रमूख जिल्ला अधिकारी धर्मराज जोशीले नागरिकको सुरक्षा महत्वपूर्ण भएकाले त्यसमा कुनै सम्झौता नहुने बताए । जेनजी आन्दोलनपछिको सुरक्षा व्यवस्था पूर्णरुपमा सुधार भइसकेकोले चाडपर्वका बेला जिल्लाको शान्ति सुरक्षामा पूर्ण प्रत्याभूति दिलाउन प्रहरी प्रशासनका तर्फबाट कुनै कसर बाँकी नहुने बताए ।
‘जेनजी आन्दोलन र दशैं सुरु भएपछि केही शुभकामनाहरु आएका छन्, यसबाट स्थानीय प्रशासन र सुरक्षाकर्मी विचलिन हुनुहुँदैन । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएका व्यक्तिहरु र चाडपर्वका बेला धार्मिक सद्भाव बिगार्न खोज्ने तत्वहरुलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी रहने छैन,’ प्रजिअ जोशीले भने ।
उनले आफ्नो पेशागत जिम्मेवारीबाट विचलित नभएर सुशासनका पक्षमा कसैसँग सम्झौता नहुने पनि बताए । प्रजिअ जोशीले भने, ‘मुर्दा र दास भएर प्रजिअको कुर्सीमा बस्दिन, कसैसँग मित लाएर स्वार्थका लागि दौडिन्न । राज्यले दिएको जिम्मेवारीबाट विचलित हुने छुट छैन । त्यसैले पनि जिल्लाको शान्ति सुरक्षालाई चुस्त बनाउने कुराका कसैसँग सम्झौता गर्दिनँ ।’
साथै प्रजिअ जोशीले जेनजी आन्दोलनपछि जिल्लास्थित सरकारी कार्यालयबाट दिइने सेवा प्रवाहलाई पूर्ववत् अवस्थामा ल्याउनका लागि लागिपरेको बताए । उनले क्षति नभएका कार्यालयबाट पूर्णरुपमा सेवा प्रवाह भइरहेको जानकारी दिँदै पूर्ण क्षति भएका कार्यालयहरुले क्रमशः सेवा सुचारु गरेको र दशैंलगत्तै सबै कार्यालयबाट पूर्णरुपमा सेवा प्रवाह हुने बताए ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गरेको सर्वदलीय सर्वपक्षिय बैठकले हिन्दू धर्मावलम्बीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वलाई शान्ति एवं सद्भावपूर्ण रुपमा मनाउन, धार्मिक सहिष्णुता, आपसी एकता एवं भाइचारा कायम गर्न, चाडवाडका समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि निरुत्साहित गर्न सबै पक्षबाट आवश्यक सनन्वय र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउँदै समाजमा हुनसक्ने अवान्छित गतिविधिको सूचना यथाशिघ्र सुरक्षा निकायलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
बाँकेका प्रमूख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा बसेको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमूख प्रशान्त बिष्ट, कोहलपुर नगरपालिकाकाका प्रमूख पूर्णप्रसाद आचार्य, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक ‘तुफान’, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी, नरैनापुर गाउँपालिकाका अध्यक्ष, इस्तियाक अहमद शाह, सहायक प्रमूख जिल्ला अधिकारीद्वय उमाकान्त अधिकारी, पूर्णबहादुर खत्रीको उपस्थिति रहेको थियो ।
साथै बैठकमा नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, नेकपा एमाले बाँकेका उपसचिव किशोर थापा, नेकपा माओवादी केन्द्र बाँकेका डिल्लीप्रसाद बराल, सशस्त्र प्रहरी बल नेपाल नं.३० गण हेडक्वाटर बागेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, श्री बज्रदल गण बाँकेका प्रमूख सेनानी रामचन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसी, राष्ट्रिय अनुसन्धान बाँकेका उपअनुसन्धान निर्देशक हरिश बिष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, मुस्लिम धर्मगुरु मौलाना मन्सुर लगायतको उपस्थिति रहेको थियो ।
सत्यपाटी