२०८३ वैशाख १८ , शुक्रबार 2, May 2026, Saturday

नेपालगन्जको ऐतिहासिक रामलिला मञ्चन रोकियो

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ असोज ९ गते बिहीबार
फाइल तस्वीर

विगत १५७ वर्षदेखि निरन्तर मञ्चन हुँदै आएको नेपालगन्जको ऐतिहासिक रामलीलाको महत्व बेग्लै छ । यहाँको रामलीला मञ्चनले चाडपर्वको रौनक बेग्लै बनाउने गरेको छ । विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा घटस्थापनाको दिनदेखि रामलीला मञ्चनले सुरु हुन्थ्यो ।

रामलीलाका कारण रातिको समयमा नेपालगन्जमा मानिसको चहलपहल हुँदै आएको थियो । तर १५७ वर्षदेखि मनाइँदै आएको ऐतिहासिक रामलिला मञ्चन यस वर्ष रोकिएको छ । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले रामलिलामा भीडभाड हुने भएकाले सुरक्षाको कारण स्थगन गर्न बाध्य भएको बताए ।

जेनजी आन्दोलनपछिको उत्पन्न परिस्थितिका कारण रामलिला स्थगन गर्नुपरेको बताउँदै अध्यक्ष कनोडियाले सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म मञ्चन हुँदै आएको रामलिला यस बर्ष स्थगन गरिएको जानकारी दिए । यसअघि पनि कोभिड–१९ का बेला रामलिला दुई वर्ष स्थगन गरिएको थियो ।

घटस्थापनाबाट सुरु हुने रामलिला नभए पनि रावण बधको सामान्य कार्यक्रम हुन सक्ने अध्यक्ष कनौडियाले जानकारी दिए । उनले रामलिलामा रामायणमा आधारित श्रीरामको जन्मदेखि राज्यभिषेकसम्मको रामचरित्र प्रस्तुत गर्नुपर्ने हुँदा त्यसका लागि कलाकार भारतबाट आउने भएकाले सुरक्षा चुनौती रहेको बताए ।

सन् १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको जनाउँदै यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीय समुदायमा लोकप्रिय रहेको बताए । सञ्चालक समितिका अध्यक्ष कनोडियाले भारतको उत्तर प्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि यहाँ हरेक वर्ष आउने गरेको बताए ।

कशौधन वैश्य समाज बाँकेका पूर्वअध्यक्ष नन्दलाल वैश्यले यहाँको ऐतिहासिक रामलीला सामाजिक सद्भाव र नेपाल–भारत मैत्रीको प्रतीकसमेत बनेको बताए । नेपालगन्जको रामलिला ऐतिहासिक र विशेष महत्वको रहेको बताउँदै उनले नेपालगन्जको मौलिक इतिहास बोकेको रामलिलालाई यहाँका स्थानीय अवधि समुदायले संरक्षण गरिरहेको जानकारी दिए ।

धनुषयज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाउने गर्छ । सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार स्वर्गीय रामगोपाल टण्डन, भाइलाल हल्वाइ लगायतले नेपालगन्जमा रामलीला महोत्सवको सुरुआत गरेका थिए ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार