२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

बालेनको समर्थनमा जेनजीको नयाँ पार्टी !

जेनजी आन्दोलनपछि ओली सरकार ढलेर नयाँ चुनाव मिति घोषणा भएको छ । तर, आन्दोलनमै अगुवा बनेका युवाहरू भने चुनावपछिको परिस्थिति कस्तो होला भन्ने अनिश्चिततामा छन् ।

‘६ महिनामा चुनाव भनिएको छ, तर धेरैसँग मतदाता परिचयपत्र छैन,’ होटल म्यानेजमेन्ट पढिरहेका २२ वर्षीय राज खड्का चिन्ता पोख्छन्, ‘त्यसले हामीलाई पछि पार्छ कि वा फेरि पुरानै दल फर्किएलान् कि भन्ने डर छ ।’

जेनजी कार्यकर्ताहरूलाई सबैभन्दा ठूलो चिन्ता भने चुनावपछि पुराना दलका नेताहरू नै सत्तामा फर्किने हो कि भन्ने हो । बानेश्वरमा दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी खड्काले भने, ‘यदि फेरि पुरानै नेताहरू आए भने हाम्रो बलिदान खेर जान्छ ।’

तर, पुराना दलहरू अझै पुरानै नेतृत्वकै भरमा छन् ओली एमालेमा, देउवा कांग्रेसमा, प्रचण्ड माओवादीमा । नयाँ अनुहार देखाउने भनिएको रास्वपाभित्र पनि विवाद चुलिएको छ । यही कारणले कतिपय जेनजी कार्यकर्ताले नयाँ दलको विकल्प खोज्न थालेका छन् ।

परोपकारी समूहसँग आबद्ध बब्लु गुप्ता भन्छन्, ‘हाम्रो मुख्य माग भ्रष्टाचार अन्त्य र युवालाई स्वदेशमै बस्ने वातावरण हो । यो पुराना दलले पूरा गर्न सक्दैनन् ।’ नयाँ दल बनाउने चर्चा भइरहे पनि नेतृत्व को लिने भन्ने प्रष्ट छैन । धेरैको नजर काठमाडौंका मेयर बालेन्द्र शाहतिर छ ।

आन्दोलनको निर्णायक क्षणमा उनको स्टाटसले नै संसद् विघटनको मागलाई जेनजीको एजेण्डा बनाइदिएको थियो । तर, उनले पार्टी खोल्नेबारे अझै खुलेर भन्न बाँकी छ । यसैबीच, कुलमान घिसिङ लगायतका केही लोकप्रिय अनुहारहरू पनि नयाँ शक्ति निर्माणतर्फ लागेको चर्चा छ ।

विश्लेषकहरू भने जेनजीलाई एउटै मोर्चामा उभ्याउन चुनौती हुने बताउँछन् । राजनीतिशास्त्री डा.लोकराज बराल भन्छन्, ‘यदि अहिलेको सरकार असफल भयो भने फेरि पुराना दललाई मौका मिल्छ । त्यसैले जेनजीले चुनावसम्म बलियो संगठन बनाउनैपर्छ ।’

विश्लेषक नविन तिवारीको निष्कर्ष पनि उस्तै छ, ‘जेनजीका विभिन्न समूह र स्वार्थ छन् । त्यसैले उनीहरूलाई नयाँ दल बनाएर मात्रै माग सम्बोधन गर्ने विकल्प छ ।’ रक्षा बमजस्ता जेनजी नेतृहरू भने दृढ छन्, ‘पुराना दल फर्किन्छन् कि भन्ने विकल्प नै हाम्रो लागि छैन । ६ महिनाभित्र निष्पक्ष चुनाव गरेर नयाँ पुस्ताप्रति भरोसा दिलाउनै पर्छ ।’

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार