काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन् । हर्कले सामाजिक सञ्जालमा बालेनलाई लक्षित गरी आक्रोशपूर्ण टिप्पणी गरेपछि उनले मेयर हर्क साम्पाङ्लाई माया गरिरहने बताएका छन् ।
बालेनप्रति हर्क रुष्ट बनिरहेको बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही तर मेरो माया साँचो हो । तिमीप्रति मेरो साँचो प्रेम छ,’ बालेनले फेसबुकमा लेखेका छन् । पछिल्लो समय हर्क आफूलाई प्रधानमन्त्री नियुक्त गरिनुपर्ने बताउँदै आएका थिए ।
सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएसँगै उनी गृहमन्त्री बनाइदिन आग्रह गरिरहेका थिए । बालेन लुकेको र बोल्न नसकेको उनको अभिव्यक्ति थियो । बालेनलाई नेता नमान्ने हर्कको धारणा थियो । सङ्कटको बेलामा लुक्ने र सडकमा आउन नसक्ने डरपोक भन्दै बालेनप्रति टिप्पणी गरेका थिए ।
सामाजिक सञ्जालमा लेख्दै हर्कले भनेका छन्, ‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरूलाई दिई पठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरूले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास !’ हाल धरान फर्किसकेका हर्कले प्रधानमन्त्री पद नपाए पनि खानेपानी र श्रम तथा रोजगार मन्त्रालयको प्रस्ताव अस्वीकार गरेको फेसबुकमार्फत दाबी गरेका छन् ।
