जेनजी आन्दोलनपछि एमालेभित्र ठूलो विद्रोहको तयारी भएको छ । एमालेका नेता कार्यकर्ताहरुलाई अध्यक्ष केपी ओलीदेखि महासचिव शंकर पोखरेलसम्मलाई पार्टीबाट राजिनामा दिन दबाब दिँदै विद्रोहको तयारी गरेका छन् । एमालेमा केपी ओलीलाई बोकेर हिँड्ने माथिल्लो पुस्ताले विदा नलिएसम्म पार्टी चलायमान नहुने भन्दै कार्यकर्ताहरुले विद्रोहको शुरुवात गर्ने भएका छन् ।
विभिन्न सामाजिक सञ्जालहरुमा उनीहरुले पार्टीका उपल्लोतहका नेताहरुलाई विश्राम लिन आग्रह गरिरहेका छन् । खासगरी पछिल्लो कठिन परिस्थितिमा पनि महासचिव शंकर पोखरेलले आफ्नो गुटिया विष्णु रिमाल, प्रदीप ज्ञावाली तथा भानुभक्त ढकालसँग मात्रै छलफल गरी अघि बढ्न खोजेको भन्दै आक्रोस पोखेका छन् । विद्या भण्डारीसँग लागेका नेताहरुले पनि पार्टी पुनःगठनका लागि आवाज उठाएका छन् ।
योगेश भट्टराईले पार्टी पुनःगठन गर्ने बताइसकेका छन् । ठाकुर गैरे, यज्ञराज सुनुवार, झपट रावल लगायतका नेताहरुले पनि यो कदमलाई साथ दिने बताएका छन् । मुलुकका आएको राजनीतिक उथलपुथलकै क्रममा नेकपा एमालेमा पार्टी पुनर्गठनको बहस सुरु भइसकेको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारिता र अकर्मण्यताकै कारण पार्टीको साख धुलिसात् भएको निष्कर्षसहित तेस्रो पुस्ताका युवा नेताहरूले पार्टी पुनर्जीवन र पुनःगठन बहस थालेका हुन् ।
दोस्रो र तेस्रो तहका र ओली इतरका नेताहरूले पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई अघि सार्दै पुनर्जीवन अभियान देशभर विस्तारको तयारी गरेका छन् भने केहीले सुरेन्द्र पाण्डेलाई अध्यक्षका रुपमा अघि सारेका छन् । एमाले केन्द्रीय सदस्य ईश्वरी जीएमले सामाजिक सञ्जालमा शाक्यको तस्वीर सेयर गर्दै भने ‘बेदाग, आदर्शशिल व्यक्तित्व अष्टलक्ष्मी शाक्य दिदी’ भनेकी छन् । उनले उनले एमालेमा हालसम्म बेदाग देखिएकी शाक्यलाई नेतृत्वमा अघि सारेर पार्टी पुनःगठनको अभियान जनतामा लैजान खोजिएको बताइन् ।
ओली पार्टीमा मात्र होइन जनताको बीचमा पनि बिस्तारै अस्वीकार्य बन्दै गएका छन् । यस्तोमा इतरका नेताहरूले पार्टी पुनःगठनको बहस थालेका हुन् । रचना खड्कालगायत नेताहरू पनि अभियानमा जोडिएका छन् । अब ओलीको नेतृत्व प्रतिस्थापनको विकल्प नभएको नेताहरूको बुझाइ छ । जसका लागि अब पार्टीभित्रै र जनतामा पनि यो बहस चलाइने भएको छ । पार्टीभित्र पहिल्यैदेखि ओलीको स्वेच्छाचारिताको आलोचना गर्दै विद्रोहसमेत गरिरहेकी शाक्य सर्वस्वीकार्य विकल्प हुने नेताहरूको बुझाइ छ ।
पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रवेश रोक लगाउने विषय होस् वा अध्यक्ष ओलीलाई आजीवन अध्यक्ष बनाउन हटाइएको दुई कार्यकाल र ७० वर्षे उमेरहद हटाउने निर्णय, शाक्यले विरोध गर्दै आइरहेकी छन् । शाक्यको बेदाग व्यक्तित्व र निडर स्वभावका कारण इतरका साथै संस्थापन पक्षको पनि साझा नेता बन्ने क्षमता रहेको नेताहरू बताउँछन् । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टी संस्थापन नेतृत्वलाई ‘ब्रेन वास’ गरेर पार्टी हाइज्याकको प्रयास नगर्न चेतावनी दिएका छन् ।
उनले महासचिव शंकर पोखरेल लगायत नेताहरुलाई लक्षित गर्दै खुला समीक्षाका लागि तत्काल पार्टी फोरम आयोजना गर्न चुनौतीसमेत दिएका छन् । पछिल्लो समय पार्टी नेतृत्व र संस्थापनको गतिविधिप्रति निरन्तर प्रखर आलोचकका रूपमा प्रस्तुत भइरहेका बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीको कोर टिमप्रति पनि व्यंग्य गर्दै आएका छन् । ‘नीति र विधिको रक्षा भएपछि नेतृत्वको रक्षा स्वतः हुन्छ । ब्रेन ड्रेन, ब्रेन वासपछि ब्रेन हाइज्याक प्रयास नगर। बरु खुला समीक्षाका लागि पार्टीका फोरम तत्काल आयोजना गर,’ उनले लेखेका छन् ।
