२०८३ मंसिर २ , बुधबार 19, November 2026, Thursday

राष्ट्रपति पौडेलले भने, ‘संविधानबाटै समस्याको समाधान खोजौं’

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका छन् । राष्ट्रपति पौडेलले देशको वर्तमान विपत्तिजनक परिस्थितिमा संवैधानिक दायराभित्र रही समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन् ।

आज (भदौ २६ गते) जारी गरिएको विशेष सन्देशमा राष्ट्रपति पौडेलले मुलुकमा विद्यमान समस्याबाट निस्कनका लागि शान्ति र सुव्यवस्था कायम गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलको यो सन्देश हालको राजनीतिक अस्थिरता र बढ्दो आन्दोलनबीच आएसँगै मुलुकको राजनीति अझै उथलपुथल हुने आशंका बढाएको छ ।

‘देशको अहिलेकै विपत्तिपूर्ण अवस्थामा मुलुकलाई संवैधानिक दायरामा रही कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा म विचार विमर्श एवं हरेक प्रयास गरिरहेको छु,’ राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् । उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधन गर्न द्रुत समाधान खोजिनुपर्नेमा जोड दिएका छन् ।

उनले विस्तृत संवाद र संयमतापूर्वक काम गर्दै मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको बताएका छन् । उनले आन्दोलनरत नागरिकहरूको मागलाई सम्बोधन गर्नका लागि छिटोभन्दा छिटो समस्याको समाधान खोजिने कुरामा विश्वस्त रहन पनि सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार